झापा, भदौ २८ । जेनजी आन्दोलनका कारण झापाका ६९ वटा प्रहरी कार्यालय विस्थापित भएका छन् ।

आन्दोलनकारीहरुले प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि अधिकांश प्रहरी कार्यालय विस्थापित बनेका हुन् । झापामा जम्मा ७३ वटा प्रहरी युनिट रहेका थिए । त्यसमध्ये चारवटा बाहेक सबै विस्थापित बनेका हुन् । जिल्ला प्रहरी कार्यालय , इलाका प्रहरी कार्यालय काँकडभिट्टा ,इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय गौरीगञ्जमा आन्दोलनको असर परेपनि ती प्रहरी युनिट भने विस्थापित भएनन् । विस्थापित बनेका प्रहरीहरु जिल्ला प्रहरी कार्यालयमा एकत्रित बनेका छन् ।
एकैदिन ९ वटा प्रहरी युनिट पुनर्स्थापित
झापाका विस्थापित प्रहरी कार्यालयमध्ये हिजो एकैदिन ९ वटा पुनर्स्थापित भएका छन् । पुनर्स्थापित हुने प्रहरी युनिटहरुमा इलाका प्रहरी कार्यालय केचना , इलाका प्रहरी कार्यालय कुमरखोद , इलाका प्रहरी कार्यालय राजगढ , प्रहरी चौकी महेशपुर , इलाका प्रहरी कार्यालय घैलाडुब्बा , इलाका प्रहरी कार्यालय शनिश्चरे , इलाका प्रहरी कार्यालय गौरादह ,प्रहरी चौकी कोरोवारी र प्रहरी चौकी चारआली रहेका छन् ।
अन्य प्रहरी कार्यालयहरु पनि पुनर्स्थापित हुँदैछन् । अन्य प्रहरी कार्यालयहरुलाई पनि पुनर्स्थापना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तत्काल पुनर्स्थापना गर्न नसकिने प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरीहरुलाई छेउको प्रहरी कार्यालयमा राखेर जिम्मेवारीमा खटाइने जनाइएको छ ।



