झापा,भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन्।

उनले आज एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन्।
उनले भनिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।’

उनी लामो समयदेखि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीलाई लिएर असन्तुष्ट व्यक्त गर्दै आएकी थिइन्। सामाजिक सञ्जालमार्फत उनले गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै आक्रोश व्यक्त गरिन्।

श्रेष्ठले जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दामाथि पार्टी र पार्टीभन्दामाथि नेतालाई राख्न थालेको जनाइन्। उनले पार्टीभन्दामाथि नेतालाई राख्न थालेदेखि नै आलोचना गर्दै आएको उल्लेख गरिन्।
‘कहिलै गल्ती नस्विकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’ उनले भनेकी छन्,‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो। यो स्वीकार्य छैन ।’

उनी संसद विघटन अगाडि रास्वपाबाट सांसद थिइन्। उनी शिक्षा मन्त्रीसमेत बनेकी थिइन्। यस अगाडि श्रेष्ठले रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्