
जेनजेड अभियान राम्रोसँग उच्चारण गर्ने हाम्रा जिब्रोहरू अभ्यस्त नहुँदै हामीले थाहा पायौं कि यसको बेग कति शक्तिशाली रहेछ ।
तसर्थ यो बेला केटाकेटीले गुलेली खेलाएको भाष्यलाई थोत्रे सारङ्गीमा बजाएर नवीन र समृद्ध नेपालको परिकल्पना गर्न सकिँदैन ।
यो अभियान परिवर्तनको सम्वाहक बनेर आइसक्यो । यदि पुरानै किनारामा उभिएर यो मुलुकलाई गतिशील बनाउन सकिन्थ्यो भने परिवर्तनकै लागि वर्षौं जेल बसेकाहरु सत्तासिन थिए । उनीहरूसँग सिङ्गो सुरक्षा संयन्त्र थियो। राष्ट्रिय ढुकुटीको चाबी उनकै हातमा थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धहरू उनकै मार्गचित्रमा सजिएका थिए । संसदभित्र सत्ता सञ्चालकको हिस्सामा दुई तिहाई मत थियो ।प्रतिपक्षीहरु पनि थिए । देशभित्र लाखौं मतदाता थिए। घरभित्रको सरकारदेखि सिंहदरबारसम्मको नेतृत्व आफ्नै थियो। यति धेरै शक्तिशाली हुँदा पनि आज किन निर्बल साबित हुनुपर्यो ? प्रश्न चिन्ह यही नै हो।
सायद जेन–जेड पुस्ताले देख्यो होला। पञ्चायती कठघरामा साङ्लाले बाँधिएर भोगेका नारकीय जीवनमा बुनेका सपनाहरु अब स्खलित हुँदै गएका छन्। मुलुकको स्वाधीनता र भूगोलको रक्षार्थ खटिनुपर्ने सुरक्षा संयन्त्र कुख्यात भ्रष्टाचारी, दुराचारी र जल्लादहरुलाई समेत नियन्त्रण गर्न सकिरहेको छैन ।
राष्ट्रिय ढुकुटीमा रहनुपर्ने सम्पत्ति सीमित नेताहरूको घरका कोठाहरूमा अलपत्र अवस्थामा छ। जेन–जेडले यो पनि देख्यो होला सायद – शक्तिको आडमा गरिएको अक्षम्य बेइमानी , अवसरवाद र दलाल प्रवृत्तिले ठिङ्ग उभिन नदिएको स्वाभिमान अनि सँगसँगै देखियो होला – आफ्नै नारा, भाषण र चुनावी वाचाको तेजोबध ।
सायद यो पुस्ताले अपेक्षा गरेको थियो –जनउत्तरदायी नेतृत्व र पारदर्शी शासन ,सामाजिक समावेशिता र न्याय , नैतिक मूल्य र मान्यताको प्रतिष्ठित आसन । कतै यी शब्दहरु संविधान सजाइने फुलबुट्टा मात्रै त भएनन् ?
यो समय अवधिमा हामी धेरैले सडक बनेको देख्यौं , सडकमा चिल्ला गाडी गुडेको देख्यौ, सामुदायिक भवन र भ्यु टावरहरु देख्यौं, अस्पताल र पुलपुलेसा पनि देख्यौं, ऊर्जा केन्द्र र सुरुङ मार्गहरू पनि देख्यौं। विकास निर्माण र समृद्धिका खाकाहरु पनि देख्यौं । क्रमशः हुँदै गरेका प्रगतिहरु पनि देख्यौं । ठिकै थियो त, चल्दै गरेको थियो त, क्रमशः बिस्तारै हुँदै गरेको थियो त , भनेर मन बुझाउने पुस्ता हुँदै नभएको पनि होइन। हो, यही बेला चाहिँ जेन–जेडले तपाईं हामीभन्दा फरक किसिमले हेर्यो कि ? अनि देखियो होला सायद विकासका प्रतिबिम्बहरूको धरातलमा कमिसन, तस्करी , भू–माफिया र स्वेच्छाचारी प्रवृत्ति ।
तपाईँ हामीले राम्रो गाडी मात्रै देख्यौं ,उसले गाडीभित्रको ड्राइभरको दुर्नियत पनि देख्यो होला। त्यसैले त आन्दोलनले आज ड्राइभर फेरिदिएको छ।
तपाईँ हाम्रा राजनीतिक दलकै कार्यकर्ताले भन्दै आएको दल बेठिक होइन कतिपय नेता बेठिक हुन् , विधि र विधान बेठिक होइन विधिको व्याख्या चाहिँ बेठिक हो । आस्था, निष्ठा र समर्पण बेठिक कदापि होइन त्यसलाई नजरअन्दाज गर्ने प्रवृत्तिहरु बेठिक हुन् ।
समृद्ध नेपाल नारामा मात्रै सीमित भयो। यसको सार्थकताका लागि तन्नेरी पुस्ताको चाहना पनि हो यो आन्दोलन– यिनै राजनीतिक शक्तिहरु भित्रबाट विधिसम्मत आस्था, निष्ठा, त्याग र समर्पणको समुचित मूल्याङ्कन हुन सकोस् ।
यतिबेला राजनीतिक दलहरू स्वाभाविक शङ्काको पृष्ठभूमिमा टेकेर पुनर्निर्माणमा जुट्न अपरिहार्य छ। दलभित्रका कमजोरी स्वीकारौं मात्र होइन निराकरण गरेर अघि बढौं। राजनीतिक दलहरूकै अतुलनीय योगदानको दर्बिलो जगमा उभिएको शितल निवास (राष्ट्रपति भवन) जसलाई लोकतान्त्रिक गणतन्त्रको उज्यालो प्रतीक यदि हामी मान्दछौं भने –
२३ र २४ भाद्रको तन्नेरी पुस्ताको आन्दोलनपछि शीतल निवासमा कोरिएको समाधानको मार्गचित्र (२१ फागुन २०८२ को निर्वाचन) मार्फत भोलिको भविष्यलाई सुन्दर बनाऔं, समृद्ध बनाऔं । जेन–जेड आन्दोलनले निर्देशित गरेका बेथिति र भ्रष्टाचारको अखडालाई निस्तेज पारौं।
म एकजना भुइँमान्छेको नाताले यो विषम परिस्थितिमा नेपालका राजनीतिक दल, बौद्धिक समुदाय, जेन–जेड अभियन्ता, नेपाल सरकार र स्वाभिमानी नेपाली नागरिकमा अपिल र आग्रह गर्दछु । जय नेपाल ।




उच्चकोटीको विचार समग्र नेपाल र नेपालीको भविष्य बोकेको धारणा उजागर गर्नुभएकोमा धेरै धेरै धन्यवाद आजको आवस्यकता हरेक दल र नेता कार्यकर्ताले सचिनुपर्ने छ सुदृढीकरण गर्नुपर्ने छ त्यतातिर सम्बद्ध पक्षको ध्यान जाओस् यो लेख पढेर ।