नेपालमा भ्रष्टाचार र सरकारको नया नियम अन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाटसएप,ट्वीटर, युट्युभ लगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध बिरुद्धमा भन्दै जेन–जी पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो।

मुलतः दुई दलीय अप्राकृतिक गठबन्धनबाट निर्माण भएको सन्काहा शासक खड्गप्रसाद ओलीको निरङ्कुश सरकार अपदस्थ भयो । जेन–जीको समर्थनमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई प्रतिनिधि सभा बिघटन र फागुन २१ गते निर्वाचन मिति घोषणा भयो।

के हो जेन–जी पुस्ताको आन्दोलन?
सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसको युवा पुस्ता जेन–जी (नभलभचबतष्यल श) पुस्ता हो। सूचना प्रविधि, इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै जन्मिएका, हुर्किएका र सक्रिय भएका यस पुस्ताको आन्दोलन अभियान नै जेन–जी आन्दोलन हो।
प्रविधिको दृष्टिकोणमा पुस्तालाई ५ भागमा विभाजन गरिएको छ।
१.जेन– एक्स पुस्ताः– सन् १९६५ देखि १९८० सम्म जन्मिएका र रेडियो, टि.भि., कम्प्युटरसँग जानकार पुस्ता।
२.जेन–वाई पुस्ताः– सन् १९८१ देखि १९९७ सम्म जन्मिएका र इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जालप्रति परिचित पुस्ता।
३. जेन–जेड पुस्ताः– सन् १९९७ देखि २०१२ सम्म जन्मिएका र युट्युव , टिकटक, इन्स्टाग्राम, ह्वाटसएपसँगै हुर्किएका पुस्ता।
४. जेन– अल्फाः– सन् २०१३ देखी २०२४ सम्म जन्मिएका र युट्युव , टिकटक, इन्स्टाग्राम, ह्वाटसएप प्रविधिमै जन्मिएका हुर्किएका पुस्ता।
५. जेन– विटाः– सन २०२५ देखि २०२९ सम्म जन्मने र एआई र रोबटसंग हुर्कने र घुलमिल हुने पुस्ता ।

–जेन–जी पुस्ताले– विश्वमा सन २०२४÷२०२५ मा केन्या, मङ्गोलिया, सर्विया, इन्डोनेसिया, माली, युक्रेन, फ्रान्स आदि देशमा भ्रष्टाचार, आर्थिक असमानता, महंगी, अलोकतान्त्रिक शासन, जलवायु परिवर्तनविरुद्ध आवाज उठाएको, आन्दोलन र अभियान चलाएको पाइन्छ।

जेन–जी आन्दोलनको नकरात्मक पक्ष
१.नेतृत्वविहीन आन्दोलन हुँदा आन्दोलनको वैधतामा प्रश्न उठ्ने,
२. जनसमर्थन कमजोर पार्न आन्दोलनमा घुसपैठ हुने खतरा
३. आन्दोलन हिंसात्मक, चरम उत्कर्ष र अव्यवस्थित भै भबिष्यमा के गर्ने भन्ने योजना र कार्यक्रमको अभाव हुने जस्ता नकारात्मक प्रभाव छ।

–नेपालमा जेन–जी आन्दोलन

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताले २०८२ भाद्र २३ गते शुरु गरेको सडक आन्दोलनले संसद भवन कब्जा गर्न जाँदा प्रहरीसंग मुठभेड भयो। युवाहरु ‘एउटी आमाले जन्माइन् अब देश आमाको लागि छातीमा गोली खान तयार छौ ’भन्दै सडकमा उत्रिए, हतियार बोक्नेसंग कलम बोकेर आएकाको केही जोर चलेन, १९ जना युवाहरू शहीद भए ।
भाद्र २४ गते दोस्रो दिन सामाजिक सञ्जाल खुल्ला भएपछि जेन–जी आन्दोलनको भिडियोहरू भाइरल भै सडकमा जेन–जीहरुको ओइरो लाग्यो। पब्जी, फ्रिफायर जस्ता मोवायल गेमहरुमा लडाई गर्ने, आगो लगाउने, बन्दुक चलाउने गेम खेल्ने जेन–जीहरु निडरतापूर्वक आन्दोलनमा आए। अर्कोतिर जेन–जीको आन्दोलनमा सरकार विरोधी राप्रपा, रास्वपा, माओवादी समर्थक जेन–जीहरु मिसिए। आन्दोलनले एकाएक शहरी विद्रोहको फ्यूजन गर्यो।

आन्दोलनले उग्र रुप लिएपछि अप्राकृतिक गठबन्धनमा रहेको अहंकारी नालायक सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए।
उता नेपाली सेना सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण कार्यालय जोगाउन नलागी ओलीलाई हेलिकोप्टर पठाई उद्धार गर्यो। त्यसपछि जेन–जीहरुको मनोबल ह्वात्त बढ्यो भने प्रहरीहरूले के गर्ने नगर्ने आदेश पाउन सकेनन् र जेन–जीहरु हावी भए।
क्रमशः प्रदर्शनकारीको भीड राज्यका प्रमुख अंग कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरी अनपेक्षितरुपमा तोडफोड र आगजनीका घटना भए।
सो घटनामा हालसम्म ५१ जनाको मृत्यु र करिब १५०० जना घाइते भएका छन् भने आन्दोलनले सरकार परिवर्तन भै जेन–जीको समर्थनमा प्रथम महिला प्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको नेतृत्वमा आएकी छन्। प्रतिनिधि सभा बिघटन भै फागुन २१ गते निर्वाचन मिति घोषणा भएको छ।

–नयाँ अन्तरिम सरकारको चुनौती र जिम्मेवारी

प्रविधिमा हुर्किएका नयाँ पुस्ता जेन–जी, प्रधानसेनापति र राष्ट्रपतिसहित बसी जेन–जीको समर्थनमा गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको अब निम्न चुनौती र जिम्मेवारी रहेको छ।
१. समयमै तोकिएको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता सुम्पिने,
२.आन्दोलनको क्रममा मृत्यु भएका मृतक र घाइतेलाई उचित न्यायको लागि राहत, क्षतिपूर्तिसहित उपचार गर्ने गराउने,
३.आगजनी र तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनःनिर्माण, पुनःस्थापना, सुरक्षा र संरक्षण गर्ने,
४. जेन–जी आन्दोलनको छानबिन गर्न स्वतन्त्र छानबिन आयोग गठन गर्ने,
५. उच्चस्तरीय संविधान संशोधन आयोग गठन गर्ने।
६.भ्रष्टाचार हटाई प्रतिक्रान्ति रोक्ने र सुशासन कायम गर्ने

अन्त्यमा, नेतृत्वविहीन, गैरराजनीतिक चरित्रको सूचना प्रविधिमा घुलमिल हुने जेन–जी पुस्ता हो।स्वेच्छाचारी ढंगले सञ्चालित भ्रष्ट सरकारको जनता विरोधी कामकारवाही विरुद्ध जेन–जीको आन्दोलन सडकमा आयो।
आन्दोलनले घुस काण्ड, मानव तस्करी काण्ड, कुलमान बर्खास्त काण्ड, सहकारी काण्डमा मुछिएको सरकार परिवर्तन गरी निर्वाचन गराउने अख्तियारीका साथ अन्तरिम सरकार गठन गर्यो ।

प्रत्यक्ष निर्वाचित सरकार प्रमुख, निर्वाचन प्रणाली, संघीयताका मोडेल, न्यायप्रणाली जस्ता प्रावधानमा जनताका संविधानप्रतिका असन्तुष्टी सम्वोधन गर्न जननिर्वाचित सरकारलाई जिम्मा दिनुपर्छ र राजनीतिक दलले राजनीतिमा पुस्तान्तरणलाई आमन्त्रण गरेमा जेन–जी पुस्ताको आन्दोलनको सार्थकता हुनेछ।
(लेखक अधिवक्ता तथा झापा बारका सहसचिव हुन् )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्