झापा,भदौ २९ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । त्यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्याल चर्चित कानुनविद् हुन् । उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए । अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्। उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्।

सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए। शपथग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए।

त्यस्तै आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।

यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्।
खनालले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए। उनीहरुको शपथ भने सोमवार हुनेछ ।

प्रधानमन्त्री कार्कीले यी तीनै जनासँग सुरूमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ।

आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै छलफल सुरू गरेकी हुन्। मन्त्रीमण्डल प्रधानमन्त्रीसहित ११ जनासम्मको मात्र बनाइने भएको छ। यसो हुँदा अहिले टुंगो लागेका मन्त्रीहरूमा भागमा अन्य मन्त्रालय पनि पर्न सक्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्