झापा,भदौ ३० । जेनजी आन्दोलनका क्रममा झापाका ५१ जना नेताको घरमा आक्रमण हुँदा सबैभन्दा धेरै नेकपा एमालेका नेता कार्यकर्ताहरुले क्षति व्यहोर्नु परेको छ ।

त्यसपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताको निजी सम्पत्तिमा क्षति भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादीका नेता कार्यकर्ताहरुले कम क्षति व्यहोरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टीका नेता कार्यकर्ताहरुको केही पनि भएको छैन ।
जिल्लाका ५१ जना नेता कार्यकर्ताहरुको घरमा तोडफोड , आगजनी र लुटपाट हुँदा त्यसमा एमालेमा ३५ , कांग्रेसका १२ , राप्रपाका ३ र माओवादीका एकजना परेका छन् । एमालेमा क्षति व्यहोर्नेमा पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीदेखि लिएर वडा अध्यक्षमा जितेका कार्यकर्तासम्म छन् । त्यस्तै कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मादेखि लिएर वडा अध्यक्षमा जितेका कार्यकर्तासम्म परेका छन् ।
जेनजी आन्दोलनका क्रममा घर र सवारी साधन तोडफोड तथा आगजनीमा परी क्षति व्यहोर्ने एमालेका नेता कार्यकर्ता निकै छन् । दमकमा एमाले अध्यक्ष केपी शर्मा ओली, निवर्तमान भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली ,केन्द्रीय सदस्य गोविन्द थापा, प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, दमक ३ नं. वडाध्यक्ष नविन बराल, एमाले केन्द्रीय सदस्य रबिन कोइराला, केन्द्रीय सदस्य एवम् मेचीनगर उपमेयर मिना उप्रेती, केन्द्रीय सल्लाहकार सदस्य बिष्णु प्रसाई, मेचीनगर मेयर गोपालचन्द्र बुढाथोकी, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं. १२ का वडाध्यक्ष मधु निरौला, गौरादहमा एमाले स्थाई कमिटी सदस्य तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की , केन्द्रीय सदस्य दिपक कार्की, गौरादहका मेयर छत्रपति सुवेदी , उपमेयर जलवर्षा राजवंशी ,गौरादह वडा नं. ३ का वडाध्यक्ष दिलीप भण्डारी, वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल , कन्काई मेयर राजेन्द्र पोख्रेल, कन्काई वडा नं. ३ का वडाध्यक्ष युवराज चौलागाई, वडा नं. ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, एमाले जिल्ला सचिवालय सदस्य रबिन्द्र लम्साल, मेयर राजेन्द्र पोखरेलका भाइ दिनेश पोखरेल , एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराई, पूर्व मेयर ध्रुव शिवाकोटी, प्रदेश मन्त्री एकराज कार्की, मेयर पवित्रा महतारा प्रसाई, उपमेयर नगेन्द्रप्रसाद संग्रौला, एमाले नेता कालीचरण बस्नेत, एमाले अध्यक्ष ओलीका भाइ जयप्रसाद ओली , शिवसताक्षीमा संघीय सांसद एल पी साँवा लिम्बू, प्रदेशसभा सदस्य राधाकृष्ण खनाल , बुद्धशान्तिमा प्रदेशसभा सदस्य चिन्तन पाठक, बुद्धशान्ति उपाध्यक्ष भवानी खतिवडालगायतको घरमा आक्रमण भएको हो ।
त्यस्तै नेपाली कांग्रेसका यी नेता कार्यकर्ताहरु निशानामा परेका छन् । दमकमा उपमेयर रेगिना प्रसाई, मेचीनगरमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, जिल्ला उपसभापति केशवराज पाण्डे , गौरादह २ का वडाध्यक्ष गोपाल कोइराला, कन्काईमा कांग्रेसका जिल्ला सभापति देउकुमार थेवे, कन्काई उपमेयर आशा शर्मा शिवाकोटी, जिल्ला सदस्य लिला चिमरिया, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ,भद्रपुर मेयर गणेश पोखरेल, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई , गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीलगायतको घरमा तोडफोड र आगजनी भएको हो । सरकारमा रहेका एमाले र कांग्रेसका नेताहरुलाई आन्दोलनमा लक्षित गरिएको थियो । विपक्षी राप्रपा र माओवादीका केही नेता त्यस घानमा परेका हुन् ।
राप्रपाका तर्फबाट दमक नगरपालिका मेयर राम थापा,भद्रपुर उपमेयर राधा कार्की र प्रदेश सांसद सविना बजगाईको घरमा तोडफोड र आगजनी भएको छ भने माओवादीका रेवतराज पुरी गगनको घरमा तोडफोड र आगजनी भएको पाइएको छ ।
जेनजीको आन्दोलनमा रास्वपा,माओवादी र राप्रपाका कार्यकर्ताहरुले घुसपैठ गरी एमाले र कांग्रेसमाथि धावा बोलेको आरोप लागेको छ । तर, झापामा भएका आन्दोलनलाई हेर्ने हो भने त्यसमा एमाले र कांग्रसका कार्यकर्ताहरु पनि सहभागी भएका थिए ।