झापा,भदौ ३० । तोडफोड र आगजनी भएका झापाका पालिकाहरुमा प्रहरी प्रशासनको संलग्नतामा ५ दिनभित्रमा मुचुल्का तयार गरिसक्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका पालिका प्रमुख र उपप्रमुखहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति सुरक्षाको प्रत्याभूति हुँदै जाने क्रममा पालिकाहरुले दिने सेवा पुनः सुचारु गर्दै जाने र सेवा सुचारु गर्न सकिने पालिकाहरुमा घट्नाको मुचुल्का तयारपश्चात् पालिका सञ्चालन गरिने निर्णयसमेत गरेको छ ।

त्यस्तै झापा जिल्लाभित्र रहेका सार्वजनिक , निजी र संस्थागत सम्पत्तिको आगजनी र तोडफोड सम्बन्धमा प्रशासनसँग उपलब्ध भएका तथ्य प्रमाणका आधारमा यथाशिघ्र कारबाही अगाडी बढाउन माग गरेको छ ।

आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरुको फोटो र भिडियो आधिकारिक रुपमा यथाशिघ्र प्रशासनलाई उपलब्ध गराउने र सार्वजनिक तथा निजी सम्पत्तिमा जुनसुकै बहानामा आगजनी , तोडफोड र लुटपाट गर्ने ,भड्काउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न हुने र सहयोग गर्ने व्यक्तिहरुलाई कानुनको दायराभित्र ल्याउन जोडदार माग गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको बैठकमा जिल्लाका सबै पालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

झापामा विभिन्न सरकारी कार्यालयहरु, प्रहरी कार्यालयहरु, जिल्लाका १५ पालिकामध्ये हल्दिवारी र शिवसताक्षीबाहेक १३ वटै स्थानीय तहका कार्यालय, जिल्लाका दर्जनौ वडा कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्