झापा,भदौ ३१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक युवती मृत फेला परेकी छन् ।

उक्त पालिकाको वडा नं ४ बतासेकी अन्दाजी २६ वर्षीया रेश्मिका परियारको स्थानीय मार्से जंगलमा भदौ ३० गते राति मृत फेला परेकी हुन् ।
अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा जंगलमा बलात्कारपछि हत्या गरिएको हुन सक्ने कार्यवाहक वडाध्यक्ष सुवास प्रधानले बताएका छन् । प्रधानका अनुसार बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा बाटोनेर चप्पल फेला परेको, त्यसपछि खोज्दै जाँदा केही तल मडारिएको ठाउँ फेला परेको र करिब एक सय मिटर तल घोप्टो परेको अवस्थामा राति ८ बजेतिर फेला परेकी हुन् ।
परियारको भित्री कपडा मडारिएको ठाउँनेर फेला परेको र बाहिरी कपडा भने लगाइएको अवस्थामा फेला परेको प्रधानको भनाइ छ । रातिदेखि नै घटनास्थलमा प्रहरी पुगे पनि माइतीपक्षको पर्खाइमा घटनास्थलबाट शव उठाउन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।
’घटनास्थलमा राति नै प्रहरी पुगेको छ, म पनि जाँदै छु’, डीएसपी बुढाथोकीले भने, ’आफन्तको पर्खाइमा शव उठाउन सकिएको छैन ।’



