झापा, भदौ ३१ । एकजनाको मृत्यु भएको झापा जिल्लामा जापानिज इन्सेफ्लाइटिस (जेई) बाट संक्रमित हुनेहरुको संख्या ७ पुगेको छ ।

पछिल्लो पटक बिर्तामोड ५ कृषिथोक बस्ने २९ वर्षीय पुरुषमा जेईको संक्रमण देखिएको छ । उनलाई हिजो भदौ ३० गते विरामी देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस वर्षको शुरुवातमा मेचीनगरका दुई महिलालाई संक्रमण पुष्टि भएको थियो । मेचीनगर वडा नं ३ दोकानडाँडाकी ३६ वर्षीया महिलालाई गत असार १८ गते र मेचीनगर वडा नं ५ हात्तीमुढेकी ५५ वर्षीया अर्की महिलालाई असार ३० गते संक्रमण देखिएको हो । त्यसपछि साउन ६ गते भद्रपुर वडा नं ९ पुहाँतुवारीका ७७ वर्षीय वृद्ध संक्रमित भएका थिए । त्यसपछि साउन २९ गते गौरीगञ्ज १ देवीगडाकी ७ वर्षीया बालिका विरामी परेकी थिइन् । गत भदौ १ गते विराट मेडिकल कलेज विराटनगरमा भर्ना गरिएकी ती बालिकाको भदौ ४ गते मृत्यु भएको थियो ।
गत भदौ २ गते बिर्तामोड वडा नं २ चारपानेकी १३ वर्षीया बालिका संक्रमित भएकी थिइन् । उनको उपचार भइरहेको छ । त्यस्तै भदौ ५ गते बुद्धशान्ति गाउँपालिका वडा नं २ इन्द्रेणी चोकका ८६ वर्षीय बृद्ध र भदौ ८ गते अर्जुनधारा नगरपालिका वडा नं १ खुदुनावारीका ६६ वर्षीय अर्का वृद्धमा संक्रमण देखिएको छ । दुवैको अबस्था सामान्य रहेको जनाइएको छ ।
अहिलेसम्म चार महिला र चार पुरुषमा संक्रमण देखिएको हो । मेचीनगर र बिर्तामोडमा दुई–दुईजना तथा गौरीगञ्ज , भद्रपुर , बुद्धशान्ति र अर्जुनधाराका एक–एकजना संक्रमित भएका हुन् । गत वर्ष झापामा जापानिज इन्सेफ्लाइटिसबाट मेचीनगर र दमकमा एक–एक जना गरी दुईजनाको मृत्यु भएको थियो ।



