झापा, असोज १ । मोरङको सुन्दरहरैचामा घर ढलाई गर्दा याङगलको डोरी चुडिँएर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सुन्दरहरैचा १२ खोर्सानेमा होमबहादुर कट्वालको घर सोही ठाउँ बस्ने खड्गबहादुर कार्कीले ठेक्कामा लिई निर्माण गर्दै आएका थिए । हिजो साँझ ५.२० बजे घर ढलाईको क्रममा मसला बोक्ने याङगलको डोरी चुडिँन गई तल झर्दा किचेर एक मजदुरको मृत्यु भएको हो ।
बेलबारी ९ डाँगीहाट बस्ने इश्वरचन्द राजवंशीकी श्रीमती ४८ वर्षीया देवकुमारी राजवंशीलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगरमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
त्यस्तै सोही ठाउँ बस्ने ५० वर्षीया डामानी राजवंशी , राजेश राजवंशीकी श्रीमती ४० वर्षीया शर्मीला राजवंशी र सर्जु राजवंशीकी श्रीमती ३१ वर्षीया रेनुका राजवंशी घाइते भएका छन् । तीनैजनाको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।उपचारमा ठेकेदार संलग्न रहेको बुझिएको छ ।



