झापा,असोज १ । भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनमा भएको आगजनी र आक्रमणबाट भूमिगतजस्तै बनेका कोशी प्रदेशका मुख्य राजनीतिक पार्टीले आ–आफ्नो गतिविधि सुरु गरेका छन् ।


प्रदेशको प्रमुख पार्टी नेकपा एमालेले आन्तरिक बैठकहरू गर्न थालेको छ । नेपाली कांग्रेसले पनि अनौपचारिक रूपमा भर्चुअल छलफलहरू गरिरहेको जनाएको छ । नेकपा माओवादी केन्द्रले पनि जलेको आफ्नो पार्टी कार्यालय र आगजनीमा परेका नेताहरूको घर–घर पुग्ने काम सुरु गरेको छ ।
केही दिन अगाडि नेकपा एमाले कोशी प्रदेश संसदीय दलको भर्चुअल बैठक बसेको थियो । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो । कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका एमाले नेता रेवतीरमण भण्डारीले प्रदेशमा व्याप्त अन्योलपूर्ण राजनीतिक अवस्था र जनसरोकारका विषयमा केन्द्रित रहँदै एमाले संसदीय दलको बैठक बसेको बताए ।
उनले प्रदेशसभाको बैठक बोलाउने कि भन्नेबारे छलफल भएको बताए । यद्यपि स्रोतका अनुसार एमालेले प्रदेश ’जीवितै छ है’ भन्ने सन्देश दिनका लागि प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । एमाले मोरङले विराटनगरमा अगुवा कार्यकर्ता भेला गरेको छ । उक्त भेलालाई कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीले सम्बोधन गरेका थिए ।
उता, नेपाली कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीले तत्काल कुनै ठोस कार्यक्रम वा बैठकको तयारी नगरेको भए पनि फोनमार्फत नै सल्लाह र सम्पर्क भइरहेको बताए ।
‘पार्टीको अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकको प्रतीक्षा गरिरहेका छौँ । उक्त बैठकले नै आगामी रणनीति तय गर्ने र प्रदेश, जिल्ला, तथा अन्य निकायहरूलाई निर्देशन दिनेछ,’ उनले भने । उनले पनि हालको परिस्थितिमा तत्काल प्रदेश सभाको बैठक बोलाउने कुनै योजना नरहेको भए पनि संकल्प प्रस्ताव दर्ता गर्ने विषयमा एमालेसँग छलफल भइरहेको जानकारी दिए ।

‘प्रदेश सभा जीवित छ भन्ने सन्देश दिनका लागि सबै दलको सहमतिमा एउटा संकल्प प्रस्ताव तयार पारेर प्रदेश सभा सचिवालयमा दर्ता गर्नेबारे छलफल भइरहेको छ । यो प्रस्ताव दर्ताका लागि मात्र हो, बैठक बोलाउनका लागि होइन,’ उनले भने । त्यसका लागि एमाले लगायत अन्य दलहरूसँग पनि भौतिक रूपमै छलफल गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने जेनजेड विद्रोहलाई स्वीकार गर्दै अगाडि बढ्नु पर्ने बताए । भर्खरै भएको जेनजेड आन्दोलनको स्तर र त्यसको सफलतालाई एउटा ‘विद्रोह’को रूपमा स्वीकार्नुपर्ने र त्यसलाई नजरअन्दाज गर्न नहुने उनको तर्क छ । ‘यति ठुलो विद्रोह र घटना भएपछि केही पनि नभए जस्तो गरी भोलि नै फेरि प्रदेश सभा संचालन गर्ने पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारेका छन् ।
‘पहिले परिस्थिति कसरी अगाडि बढ्छ भनेर निष्कर्षमा पुग्न दिनुपर्छ । केन्द्रमा क्याबिनेट पूर्ण रूपमा बनिनसकेको र त्यसले शान्ति सुरक्षाबारे स्पष्ट नीति बनाएपछि मात्र प्रदेशसभालाई अगाडि बढाउनु उपयुक्त हुने देख्छु,’ उनले भने, ‘एमालेले प्रदेशसभा बोलाउन हतार गरेको छ यो बेठिक छ ।’

हालको परिस्थितिको जिम्मेवार नै एमाले नै भएको र अहिले फेरि सभा बोलाएर परिस्थितिलाई थप उत्तेजक र जटिल बनाउने प्रयास गर्नु नहुने उनले बताए । ‘संविधान र प्रदेशसभा आफ्नो ठाउँमा भए पनि यति ठुलो विद्रोहलाई नसमेटिकन चल्दा त्यसले परिस्थिति थप उत्तेजक बनाउने भएकाले तत्काल प्रदेशसभा बोलाउने पक्षमा हामी छैनौं,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्