झापा, असोज १ । जेनजीको आन्दोलनलाई प्रहरीले खेलाची संझिदा झापामा ठूलो जनधनको क्षति भएको छ ।

जेनजीको आन्दोलनका बारेमा चासो नलिएको प्रहरी प्रशासनले संचारमाध्यममा समाचार आउँदासमेत खेलाची गरेर बसेको पाइयो ।

तत्कालीन केपी ओली सरकारले फेसबुक , ह्वाटसएपलगायतका सामाजिक संजाल बन्द गरेपनि टिकटक, भाइवरलगायतका माध्यमबाट निकै अगाडिदेखि भदौ २३ गतेको जेनजी आन्दोलनबारे प्रचार भइरहेको थियो । राजधानीसंगै झापामा पनि भ्रष्टाचारविरुद्धको प्रदर्शनको तयारी थालिएको थियो । त्यस प्रदर्शनलाई काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह , राष्ट्रिय स्वतन्त्र पार्टी , दुर्गा प्रसाईलगायतले एक दिनअगावै समर्थन जनाइसकेका थिए ।

जेनजीको आन्दोलनका बारेमा प्रतिदिन दैनिकको अनलाइन संस्करणले अघिल्लो दिन नै समाचार प्रकाशित गरेको थियो । जेनजी आन्दोलनका बारेमा सोही दिन आँगन एफएमसंग मिलेर विश्लेषक लोकवन्धु कन्दङ्वासंग अन्तर्वार्ता गरेका थियौ । जुन अन्तर्वार्ता भदौ २२ गते बेलुका र २३ गते विहान प्रसारण भएको थियो ।

भोलिपल्ट आन्दोलन हुने दिन भदौ २३ गतेको पत्रिकामा ‘आज देशव्यापी आन्दोलन गर्दै जेनजी पुस्ता’ शीर्षकमा प्रतिदिनले मुख्य समाचार नै प्रकाशित गरेको थियो । जेनजीहरुले बिहान ११ बजे मुक्ति चौकमा भेला हुने र त्यहाँबाट नारा जुलुशसहित बिर्तामोड नगरपालिका जाने र दुई घण्टा धर्ना दिने कार्यक्रम तालिका नै सार्वजनिक गरेका थिए ।

‘जेनजी भनेका युवा विद्यार्थी हुन् र उनीहरुको आन्दोलन खासै नहोला’ ठानेर बिर्तामोडमा सुरक्षा सतर्कता अपनाएको पाइएन । बिहान १० बजेदेखि नै चारैतिरबाट विद्यार्थीहरु स्कुले पोशाकमा भेला भइरहेका थिए । त्यतिबेला मोटरसाइकलमा प्रहरीको दुईजनाको क्युआरटी टोली मात्र खटिएको थियो । प्रदर्शनकारीहरुको संख्या थपिदै गएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली गाडीमा आएको थियो ।

बिर्तामोडको वानस्टप मलबाट शुरु भएर र्याली बिर्तामोड नगरपालिकामा नारा जुलुश गरेर फर्किसकेको अवस्थामा काठमाडौ र दमकमा गोली चलेको सुनेर आक्रोशित हुँदै पुनः नगरपालिकमा पुगेर ढुंगामुढा हान्न शुरु गरेको थियो । जेनजी आन्दोलन र त्यसबाट हुनसक्ने हिंसात्मक घटनाबारे सरकारले नै अनुमान गर्न सकेको थिएन । तत्कालीन प्रधानमन्त्री ओलीको हठ र सूचनाको कमीले ठूलो दुर्घटना निम्तिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्