झापा, असोज २ । विभिन्न कारागारबाट भागेका कैदी पक्राउ पर्ने क्रममा पाँचथरमा थप एकजना पक्राउ फरेका छन् ।

झुम्का कारागारबाट भागेका बाल विवाह , अपहरण र जबरजस्ती करणी मुद्दाका कैदी पाँचथर हिलिहाङ –७ बस्ने २९ वर्षीय चक्र तामाङलाई हिजो साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामामा पक्राउ गरेको हो । उनलाई जिल्ला कारागार पाँचथरमा ल्याई राखिएको छ । हाल जिल्ला कारागारमा ४९ जना कैदी रहेका छन् ।

यसअघि जेनजी समूहको विद्रोहपछि भदौ २४ गते विभिन्न कारागारबाट भागेका ४ जना कैदी पाँचथरमा पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये ललितपुरको नख्खु कारागारबाट भागेका १ र सुनसरीको झुम्का कारागारबाट भागेका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कौशल बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार नख्खुबाट भागेका कर्तव्य ज्यान मुद्दाका अभियोगी ३६ वर्षीय चन्द्र भन्ने विनय नेम्बाङसँगै झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाकै पाँचथर कुम्मायक–१ का ४५ वर्षीय चन्द्रबहादुर तामाङ, जबरजस्ती करणी मुद्दाका अभियोगी पाँचथर तुम्वेवाका ४० वर्षीय गोपाल बोहरा र लागूऔषध मुद्दाका अभियोगी पाँचथर फिदिम नगरपालिका–५ का ३० वर्षीय मंगलसिंह तुम्वापो मंगलबार घरबाटै पक्राउ परेका हुन् । ती चारैजनालाई पाँचथर कारागारमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्