झापा, असोज २ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भदौ महिनामा करिव दश लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधि अर्थात भदौमा उक्त भेटी रकम सङ्कलन भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनामा कुल नौ लाख ९७ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ। पाथीभरा दर्शनमा आउने भक्तजनले दान गरेका र भेटीबापत चढाएको रकम समितिले सङ्कलन गर्ने गरेको छ।
पाथीभरामा सङ्कलन हुने भेटी रकम समितिले प्रत्येक महिना सार्वजनिक गर्ने गरेको छ। यसअघि साउन महिनामा १० लाख ३९ हजार रुपियाँ सङ्कलन भएको थियो। यस्तै भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिले जनाएको छ। पाथीभरा दर्शन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आउने गरेको पनि समितिले जनाएको छ।



