झापा, असोज २ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतले बलियो समर्थन जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको थियो। उक्त वार्तामा मोदीले कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतको बलियो समर्थन रहेको बताएका हुन्।

वार्तापछि सामाजिक सञ्जालमा लेख्दै मोदीले भने,ʻनेपालको अन्तरिम सरकारका प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्र्थापित गर्ने उहाँको प्रयासमा भारतको दृढ समर्थन रहेको कुरामा जोड दिएँ। साथै, भोलि हुने राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ।ʼ

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। कार्की प्रधानमन्त्री भएपछि मोदीले बधाई तथा शुभकामना दिएका थिए।

मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै भनेका थिए,ʻनेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना छ। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिप्रति प्रतिबद्ध छ।ʼ

यस्तै मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरेका थिए।

ʻमणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको एउटा मित्र हो। नजिकको साथी हो। हामी साझा इतिहासबाट जोडिएका छौँ, अवस्थाबाट जोडिएका छौँ। एकसाथ अगाडि बढिरहेका छौँ। म नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु। मलाई आशा छ, नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ,ʼ उनले भनेका थिए। उनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ठुलो उदाहरण भएको बताएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्