झापा, भदौ २ । नेपाल प्रवेश गर्न खोज्ने एक संदिग्ध इन्डोनेशियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ एसएसबी पक्राउ गरेको छ ।

एसएसबीको ४१ औं वाहिनीको सी कम्पनी पानीटंकीका जवानले उनलाई पक्राउ गरेका हुन्। पक्राउ पर्ने महिलाको नाम काडेक सिसियानी हो। उनी इन्डोनेशिया निवासी हुन्। भारतीय आधार कार्डमा उनको नाम निन्योमन मुरनी रहेको छ। प्राप्त जानकारी अनुसार, एसएसबीले उनलाई भारतीय सीमामा सीमा स्तम्भ संख्या ९० को नजिक पुरानो पुलमा रोकेको थियो। सोधपुछ गर्ने क्रममा ती महिलाले आफूलाई भारतीय नागरिक निन्योमन मुरनी बताएकी थिइन् । पछि थप जाँच गर्दा उनको साथमा विभिन्न नक्कली कागजातहरू फेला परेको छ । जसमा इन्डोनेशियाली पहिचान पत्र पनि समावेश थियो ।
ती संदिग्ध महिलाले आफू भारतीय नागरिक नभएर मुम्बईमा एक स्थानीय एजेन्टमार्फत ठगी गरेर भारतीय आधार कार्ड र प्यान कार्ड प्राप्त गरेको स्वीकार गरेकी छन् । उनले नक्कली कागजात प्रयोग गरेर इन्डोनेशियाबाट टर्की, नेपाल र भारत यात्रा गर्ने गरेको बताएकी छन् । एसएसबीले कानुनी प्रक्रिया पूरा गरी ती महिलालाई खोरीबारी थानामा बुझाएको छ । आज ती महिलालाई सिलिगुडी अदालतमा पेश गरिने भारतीय प्रहरीले जनाएको छ।



