झापा,असोज २ । जेनजी आन्दोलनका क्रममा विभिन्न सरकार तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीपछि बीमा कम्पनीहरूमा बीमा दाबी पर्न थालेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न इन्स्योरेन्स कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ ।भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।
आन्दोलनका कारण भएको क्षतिमा सबैभन्दा बढी बीमा दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । पाँच तारे होटल हिल्टनको बीमा समेत यसै कम्पनीमा परेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्समा पनि दाबी परेको थियो । शिखर इन्स्योरेन्समा ३ सय ६६ वटा बीमा दाबी परेको छ ।



