झापा, असोज २ । जेन्जी आन्दोलनमा ज्यान गुमाएका मृतकका परिवारलाई कोशी प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ ।

जेन्जी आन्दोलनपश्चात् पहिलोपटक बिहीबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराइने निर्णय गरेको हो । बैठकले पाँच लाख रुपैयाँसम्मका सबै योजना तत्काल कार्यान्वयन नगर्ने निर्णयसमेत गरेको छ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार बैठकले आन्दोलनका क्रममा भएको भौतिक पूर्वाधार क्षतिको विस्तृत विवरण संकलन गरी कार्तिक ९ गतेभित्र प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिएको छ।



