झापा, असोज ३ । जेनजीको आन्दोलनबाट सत्ताच्यूत भएका नेपाली कांग्रेस र नेकपा एमाले फेरि जुर्मुराउन थालेका छन् ।

शासन सत्ताबाट किनारा लागेको दुई साता नबित्दै ती दुई पुराना दलले राजनीतिक सक्रियता देखाउन थालेका हुन् । यसक्रममा आज उनीहरुले संविधान दिवसको अवसरमा बिर्तामोडमा शान्ति र्याली निकालेका छन् ।
संविधान दिवसको अवसरमा दिउँसो ३ः३० बजेदेखि हनुमान कम्प्लेक्स अगाडिबाट शुरु भएको र्याली “संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संविधानको रक्षा गरौं, अराजकताको अन्त्य गरौं, अराजकता होशियार, भ्रष्टाचार अन्त्य गरौं, बीर सहिदहरु अमर रहून्, संविधान दिवस सफल पारौं“ जस्ता नाराहरु लगाउँदै प्लेकार्ड र पार्टीका झण्डाहरु बोकेर मुक्ति चोक, अधुवा खोलाको पुल, इलाम स्टेण्ड हुँदै पुनः मुक्तिमा आई कोणसभा परिणत भएको थियो ।
नेपाली कांग्रेस बिर्तामोड नगर समिति र नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयुक्त आयोजनामा नेपाली कांग्रेसका बिर्तामोड नगर सभापति भोजराज सिटौलाको नेतृत्वमा, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, राष्ट्रिय सभाका पूर्व सदस्य नेता हरिचरण शिवाकोटी, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पबित्रादेबी महतारा प्रसाईं, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुबास भट्टराई, पार्टीका नेता तथा कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।
कोणसभामा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य शिवाकोटीले भदौ २३ र २४ गते जेन्जीको नाममा अन्य अराजक तत्वहरूबाट आन्दोलन भएको आरोप लगाए । उनले देशमा ठूलो बलिदानीबाट प्राप्त भएको संघीय गणतन्त्र विरुद्धका लाग्ने कसैलाई छुट नभएको बताए । त्यसैगरी संविधानसभा सदस्य शिवाकोटीले देशमा केही प्रतिगामी तत्वहरूले २०७२ को संविधानलाई नष्ट गर्न जेन्जीको नाममा घुसपैठ गरी देशमा अराजकता मच्चाएको आरोप लगाएका थिए ।



