बिर्तामोड, असोज ३ । नेकपा एमाले र नेपाली कांग्रेसले बिर्तामोडमा आयोजना गरेको संविधान दिवसको कार्यक्रममा अन्य राजनीतिक पार्टीहरु सहभागी भएनन् ।

शुक्रबार दिउँसो ३ बजे मुक्ति चोकमा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले आग्रह गरेपनि आफूहरूले छुट्टै कार्यक्रम गरेको नेकपा एकीकृत समाजवादी झापाका एक नेताले बताए । उनीहरुले पार्टी कार्यालयमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएका थिए ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टी झापाका सह–इन्चार्ज चन्द्रा श्रेष्ठले जेनजीले उठाएका पार्टी नेतृत्वमा पुस्ता हस्तान्तरण, प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मुद्दा सम्बोधन हुनु पर्ने बताइन् ।
त्यस्तै जिल्ला अध्यक्ष बिपी भट्टराईले २०४६ सालयता सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । कार्यक्रममा केन्द्रदेखि नगरसम्मका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यता नेकपा माओवादी केन्द्रले साँझ ५ बजे मुक्ति चोकमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नी)ले संविधान मास्न खोज्ने कांग्रेस–एमालेले संविधान दिवसको कार्यक्रम गरेर संविधानको उपहास गरेको आरोप लगाए । उनले कांग्रेस–एमालेको दुई तिहाईको दम्भ र भ्रष्टाचारका कारण जेनजी आन्दोलन भएको भन्दै उनीहरूको मागप्रति पार्टीको ऐक्यबद्धता रहेको बताए ।
बिर्तामोड नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा प्रदेश सदस्य भवानी दङ्गाल, नगर इन्चार्ज कुबेर श्रेष्ठ (अरुण), नगर अध्यक्ष मोहन सुब्बा लगायत प्रदेशदेखि नगर तहसम्मका नेता कार्यकर्ताहरु सहभागी थिए ।



