झापा, असोज ३ । जेन्जी आन्दोलनका नाममा आन्दोलनकारीहरुले कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको घर तोडफोड मात्र गरेनन् , उनले अगुवाई गरेर बनाएको दुर्गा माविको भवनसमेत आगजनी गरेर क्षति पुर्याएका छन् ।

बिर्तामोड ९ स्थित दुर्गा मावि गरामनीको भवन भदौ २४ गते आन्दोलनकारीहरुले आगजनी गरेका हुन् । भुइँतलामा व्यवसायिक सटर र माथिल्लो तलामा कक्षा कोठा रहेको भवनमा आगजनी हुँदा भवनमा क्षति पुग्नुका साथै भवनभित्र रहेका सरसामान जलेर नष्ट भएको छ ।
दुर्गा माविको पुरानो भवन अगाडि रहेको खाली चौरीमा केही वर्षअघि सो तीनतले भवन बनाइएको थियो । त्यतिबेला मन्त्री कार्की विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका थिए । खेलकुदका कार्यक्रम र दशैमा मेला लाग्ने गरेको सो चौरीमा भवन बनाउन खोज्दा शुरुमै विरोध भएको थियो । भवन बनाउन खनिएको खाल्डो विरोध गर्नेहरुले पुरेका थिए । पछि सर्वदलीय सहमति गरेर सो भवन बनाइएको थियो । तर पनि मन्त्री कार्कीले बनाएको सो भवनका बारेमा बेलाबेला विरोध आउने गरेको थियो ।
बिर्तामोड ८ मा रहेको मन्त्री कार्कीको घरसंगै दुर्गा माविको भवनमा आन्दोलनकारीहरुले धावा बोल्नुको पछाडि मन्त्री कार्कीसंगको रिसिवी हुनसक्ने आशंका गरिएको छ । मन्त्री कार्कीले पनि सो कुरा स्वीकार गरेका छन् । जेनजी आन्दोलनका नाममा दुर्गा माविबाहेक कही पनि शैक्षिक संस्थामाथि आक्रमण भएको छैन । त्यसमा पनि दुर्गा माविको पुरानो भवन नजलाई मन्त्री कार्कीले नै बनाएको भवन जलाएका छन् ।

दुर्गा माविको भवन जलाउने कार्यमा जेनजीको नाममा राप्रपा र माओवादीका कार्यकर्ताहरुको हात रहेको मन्त्री कार्कीले आरोप लगाए । आफ्नो घरमा पनि उनीहरुले नै तोडफोड गरेको उनको आरोप छ । आन्दोलनकारीहरुले मन्त्री कार्कीको घरको सीसा फुटाएका छन् । आगजनी भने गर्न पाएनन् । आगजनी गरिएको दुर्गा माविको भवनको भुइँतलमा २१ वटा सटरमा विभिन्न पसल रहेका थिए भने माथिल्लो तलामा रहेको कक्षा कोठामा विहान गरामनी क्याम्पस र १० बजेपछि विद्यालयको २,३ ,४ र ५ कक्षाको पढाइ हुने गरेको थियो ।
आगजनीबाट कक्षा कोठामा रहेका फर्निचर र सेमिनार हलमा रहेका सरसामान जलेर नष्ट भएको प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले बताए । त्यस्तै गरामनी क्याम्पसको कागजपत्र र फर्निचर पनि जलेर नष्ट भएको क्याम्पस प्रमुख कृष्ण पाठकले बताए । तला माथि आगो सल्किरहँदा सटरका सामानहरु भने व्यवसायीहरुले निकालेका थिए ।
मर्मतमा अग्रसर भए बिर्तामोडका शैक्षिक संस्था
जेनजी आन्दोलनकै दिन आगलागीबाट क्षति भएको बिर्तामोड–९ गरामनीस्थित दुर्गा माविको भवन मर्मतका लागि बिर्तामोडका दुई शैक्षिक संस्था अग्रसर भएका छन् ।
बिर्तामोड ३ स्थित आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट र लिंकन मन्टेश्वरी स्कूल दुर्गा माविमा भएको क्षति मर्मतमा जुटेका हुन् । आगलागीका कारण विद्यालयको डिजिटल बोर्ड, कम्प्युटर, ल्यापटप, कुर्सी लगायतका सामग्री जलेको÷हराएको, आगलागीका कारण रंग लगाउनु पर्ने जस्ता समस्या भएको आदर्श स्कुलका निर्देशक संजोग खरेलले बताए ।
खरेलका अनुसार लिंकन र आदर्शले दुर्गा माविमा भएको क्षति मर्मतमा लागि २ लाख बराबरको सामग्री उपलब्ध गराइने छ।
ती दुई शैक्षिक संस्थाको अभियानमा गोमेन्द्र विर्ता मोडेल स्कूल, न्यूटन्स एजुकेशन फाउण्डेशन र निदि कलेजले समेत ऐक्यबद्धता जनाएको लिंकन मन्टेश्वरीका संचालक सरोज पौडेलले बताए ।



