झापा, असोज ४ । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताएर गत वैशाखमा झापा आएका पाँचथरको हिलिहाङ गाउँपालिका– २ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ गएकै थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी झापामै बसेर विर्तामोड नगरपालिका– १० बिराटपोखरमा घर बनाइरहेका थिए ।


गत भदौ तेस्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुइँतलाको काम सक्ने बताएका थिए । ‘दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो’, गणेशले भने, ‘तर भदौ २४ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।’ गणेशलाई देशका मुख्य शहरमा जेन–जीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन ।

घर निर्माण गरिरहेका कमल ‘जेन–जी’ आन्दोलन चर्किएको समयमा २४ भदौको साँझ आन्दोलनमा सहभागी हुन विर्तामोड गएका थिए । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिनँ । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लागेका थिए ।

रात पर्दै गएपनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरि मोबाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत २५ भदौको बिहान १० बजे कमलको फोन बीएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए ।

सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । ‘हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्’, मायाले भनिन्, ‘दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।’
जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला २४ भदौको साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आएका थिए । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बीएण्डसी अस्पताल पु¥याएका थिए ।

कमलका परिवारजनले भोलिपल्ट मात्रै उनी ‘भेन्टिलेटर’मा भएको जानकारी पाए । ‘दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस अवस्थामा हुनुहुन्थ्यो’, बहिनी मायाले भनिन्, ‘चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनुभएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर, त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।’

कमलको शवलाई २८ भदौमा अमरपुर लगी दाहसंस्कार गरेपश्चात् काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन् । ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिएका छन् । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ ।(राससबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्