झापा, असोज ४ । एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतको आक्रामक स्वभावले पार्टी नै सकिने हो कि भनेर कार्यकर्ताहरु चिन्तित हुन थालेका छन् ।

जेन–जी आन्दोलनपछि बस्नेतले जो पायो त्यसैलाई अपशव्द प्रयोग गरी भड्काउने अभिव्यक्ति दिँदै आएपछि उनको विरुद्धमा कार्यकर्ताहरु खुलेरै आलोचना गर्न थालेका हुन् । बिर्तामोड निवासी एमालेका कार्यकर्ता भक्तिप्रसाद तिवारीले बस्नेतका बारेमा पार्टी नेतृत्वले अव सोच्नु पर्ने बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ,‘ कसैलाई घटिया हर्कत गराउन – हामीले किन भर्याङ बनिदिनु पर्ने ? डन , गुण्डा र तस्करको बहिर्गमन नभएसम्म । सोच्नुपर्ने बेला आयो ।’

त्यस्तै एमाले कार्यकर्ता तथा बाहुण्डाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारीले बस्नेतले एमाले विगार्दै लगेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा प्रश्न गरेका छन् ,‘हैन , महेश बस्नेतको बडप्पनले एमालेलाई फाइदा होला र ?’ अर्का कार्यकर्ताले त्यस स्टाटसप्रति प्रतिक्रिया दिँदै लेखेका छन् ,‘यहि त कुरो छ , दाजु सक्ने भो त यो भुँडेले ।महेश बस्नेतले बोलेको र देखाएका गतिबिधिले मुलुक पुनः मुठभेडमा लैजाने देखिन्छ ।यसले किमार्थ देशलाई र नेकपा एमालेलाई राम्रो गर्दैन है।’

गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि देशमा आएको परिवर्तनले पुराना दलका नेता तथा कार्यकर्ता मौनजस्तै छन् । शीर्ष तहका नेताले पनि सामाजिक सञ्जालमार्फत सीमित सन्देश सार्वजनिक गरिरहेका छन् ।

तर, बस्नेत भने आक्रामक देखिन थालेका छन् । पछिल्लो समय उनले पत्रकारहरूलाई समेत धम्की दिन थालेका छन् ।
शुक्रबार बस्नेतले ’नेप्लिज टाइम्स’का कार्यकारी सम्पादक टेकमान शाक्यलाई धम्की दिए । बस्नेतले समाचार लेखेको भन्दै आफूलाई धम्की दिएको अडियो क्लिप पत्रकार शाक्यले सार्वजनिक गरेका छन् ।

शाक्यसँगको टेलिफोन संवादमा बस्नेतले भनेका छन्, ‘तिमीले मेरो विषयमा जे बोलेका छौ । त्यो पुष्टि भएन भने के गर्छौ ?’ बस्नेतले पत्रकार शाक्यकै नेतृत्वमा सिंहदरबार र सर्वोच्च जलाइएको आरोपसमेत लगाएका छन् ।

पत्रकार शाक्यले धम्कीपूर्ण अडियो क्लिप सार्वजनिक गरेपछि पनि नेता बस्नेतले म्यासेज गर्दै धम्की दिएका हुन् । शाक्यलाई धम्की दिँदै उनले लेखेका छन्, ‘धेरै कल रेकर्ड गर्न तयार भएर बस बाबु, सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नपरोस्…’
पत्रकार शाक्यले अर्का एक अपरिचित व्यक्तिले पनि धम्की दिएको बताएका छन् । ‘उनले फोन गर्नुअगाडि ’म महेश बस्नेतको मान्छे हुँ’ भन्दै एक अपरिचित व्यक्तिले पनि ज्यान मार्ने धम्की दिएको छ,’ शाक्यले भने । ती व्यक्तिले आफू महेश बस्नेतको शुभचिन्तक भन्दै बस्नेतका विषयमा धेरै नलेख्न धम्की दिएको शाक्यको भनाइ छ । यो कल रेकर्ड पनि पत्रकार शाक्यले सामाजिक सञ्जालमा राखेका छन् ।

बस्नेतले पत्रकार शाक्यलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले बस्नेतलाई कारबाहीको माग गरेको हो । समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न पनि सम्बद्ध निकायसँग माग गरेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले पनि पत्रकारलाई धम्की दिनेहरुलाई तत्काल कारबाही गर्न र शाक्यको सुरक्षाका लागि सरकारसँग माग गरेको छ । दबूका महासचिव केके मानन्धरद्वारा जारी विज्ञप्तिमा पत्रकारको नैसर्गिक अधिकारमा अवरोध नगर्नसमेत आग्रह गरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा आफ्नो घर तोडफोड र आगजनी भएको भन्दै बस्नेतले अराजक स्टाटस लेख्ने र भड्काउ अभिव्यक्ति दिँदै आएका छन् । उनले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।

२९ गते सुनौलो नेपाल नामको फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा बस्नेतले भनेका छन्, ‘जेन–जीलाई उचाल्ने टंक दाहाल, राजीव खत्री को को हो अरू ? …ल त्यो राजीव खत्री भन्ने फटाहले मेरोबारेमा यौनकाण्डदेखि लिएर अनेक भन्छ । त्यो पनि पुष्टि गर, च्यालेन्ज तँलाई । खुकुरी राखेर पुष्टि गर… पुष्टि भयो भने म काटिन तयार, पुष्टि भएन भने तँलाई काट्छु म । च्यालेन्ज तँलाई ।’

त्यसपछि पनि उनले यस्तै खालका अभिव्यक्ति दिँदै आएका छन् । भदौ ३० गते दिउँसो ११ बजेर ४६ मिनेटमा सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले जेन–जी लाई ‘आतंककारी’ भनेका छन् ।

उनले सो भिडियोमा भनेका छन्, ‘जेन–जी भनेको आतंककारी हो । जसरी हिजो वाईसीएल आतंककारी थियो । हिजो माओवादी आतंककारी । लुटेर बैंक लुट्ने ठग्ने । १० वर्षमा माओवादीले गरेको भन्दा यिनीहरुले २ दिनमा बर्बाद बनाए । जेन–जीलाई आतंककारी नभनौं भन्छन् अब साथीहरु । जेन–जी भनेकै आतंककारी हो ल । १० चोटि, २० चोटि, ५० चोटि भन्छु । जसले सिंहदरबार जलाए, ती आतंककारी हुन् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्