झापा, असोज ४ । जेनजीको आन्दोलनमा झापाको विभिन्न क्षेत्रमा डेढ सयभन्दा बढी संरचनामा आगजनी र तोडफोड भएपनि सदरमुकामका एक दर्जन बढी सरकारी कार्यालय जोगाउन झापा प्रहरी सफल भएको छ ।

चन्द्रगढीको रजत चौकदेखि उत्तरपट्टि रहेका महत्वपूर्ण कार्यालयहरुलाई भरमग्दूर प्रयास गरेर प्रहरीले जोगाएको हो । जिल्ला समन्वय समितिको कार्यालय, आन्तरिक राजश्व कार्यालय, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, प्रजिअ निवास, सरकारी वकिल कार्यालय, जिल्ला कारागार, हुलाक , परिवार नियोजन, जिल्ला प्रहरी कार्यालयलगायत महत्वपूर्ण कार्यालयहरुमा आन्दोलनकारीहरुलाई रोकेर प्रहरीले अझ ठूलो क्षति हुन नदिएको हो ।
भदौ २३ गते नै सरकारबिरुद्ध जेनजीहरुको आन्दोलनको भीडको मनोविज्ञान अध्ययन गरी झापा जिल्लाभरि नै प्रदर्शन हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले आँकलन गरेको थियो । झापा जिल्लाअन्तर्गतका शहरी क्षेत्रहरु बिर्तामोड, दमक प्रदर्शनकारीको मुख्य तगारो बनेपनि आन्दोलनकारीको नजर जहिले पनि जिल्ला सदरमुकाममै रहने गरेको पूर्वाभ्यास रहेको छ । तथापि जिल्ला प्रहरी कार्यालयले मातहतका कतिपय प्रहरी युनिटबाट प्रहरीहरु थप मद्दतको लागि जिल्ला प्रहरी कार्यालय झापामा संकलन गरि इलाका प्रहरी कार्यालय बिर्तामोड लगायतका स्थानमा खटाएको थियो ।
जिल्लाभरि नै शान्ति सुरक्षाको अवस्था बिश्लेषण तथा योजना निर्माण गरी सुरक्षाकर्मी परिचालनको लागि जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा जिल्ला कमाण्ड पोष्ट स्थापना भएको थियो । यद्यपि प्रदर्शनकारीको उग्र भीडले इलाका प्रहरी कार्यालय दमक र बिर्तामोडमा रहेका प्रहरी इकाई लगायत सरकारी कार्यालय र नेताहरुको घर निवास लगायत व्यापारिक भवनहरुमा आगजनी गरिसकेको थियो । यति भैसकेपछि जिल्ला सदरमुकाममा पनि आक्रमण गर्ने आन्दोलनकारीको मनसाय प्रष्ट बुझिन्थ्यो । यही अवस्थालाई मनन गरि जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय जोगाउने जिम्माका साथ रजत चोकमा डीएसपी खगेन्द्रबहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
रजत चोक, सगरमाथा चोक ,लेखनाथ चोक, पृथ्वीचोक, एयरपोर्ट चोक लगायतका स्थानमा बिहानैदेखि निषेधाज्ञा लागु भइसकेपनि प्रदर्शनकारीहरु रजत चोकमा जम्मा हुन थालेका थिए । यसै क्रममा उनीहरुलाई निषेधाज्ञा जारी भइसकेको भन्दा पनि नमानी प्रजिअ कार्यालयलगायत अन्य कार्यालयतर्फ प्रहरीलाई ढंगामुढा गरी अराजक तरिकाले भीड अगाडी बढ्न खोज्दा रजत चोकमा खटिएको डीएसपी खड्का नेतृत्वको टोलीले शुरुमा लाठी चार्ज गरेको थियो । तर प्रदर्शनकारीको संख्या उल्लेख्य मात्रामा रहेकाले उत्तेजित भई भीड झन् अगाडी बढ्न खोज्दा प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको थियो । तर भीडले कतिपय ग्यास सेल प्रहरीतर्फ नै उल्टै प्रहार गरेका थिए । जसले गर्दा अब सुरक्षाकर्मी पछाडि हट्नुको बिकल्प थिएन । गोली प्रहारको आदेश नभएपनि डीएसपी खड्काले तत्कालीन अवस्थाको मूल्यांकन गरि प्रहरीलाई हवाई फायर खोल्ने आदेश दिनासाथ करिब ३०÷४० राउन्ड फायर गरिएपछि प्रदर्शनकारी पछाडी हट्न बाध्य भएका थिए । तत्पश्चात् पुनः रजत चोक प्रहरीको नियन्त्रणमा आएको थियो ।
त्यसपछि बिर्तामोडमा अराजक मच्चाएका समूह मोटरसाइकलसहित र अन्य प्रदर्शनकारी समेत सोही भीडमा थपिन गई झन् भीड उत्तेजित र आतंकित बनेपछि अब के गर्ने भन्ने अबस्थामा प्रहरी पुगेको थियो । महत्वपूर्ण कार्यालयहरु जो सार्वजनिक सेवामा समर्पित छन् , ती कार्यालयहरु जसरी पनि जोगाउनुपर्छ होइन भने राष्ट्रले ठुलो क्षति ब्यहोर्नुपर्ने हुन्छ भने कुरालाई मनन् गरि रजत चोकमा भएका प्रहरीलाई एकत्रित गरि मनोबल उच्च राखी पुनः प्रदर्शनकारीमाथि दर्जनौ सेल अश्रुग्यास र हवाई फायर गरिएको सुरक्षामा खटिएका एक अधिकारीले बताए ।
तत्पश्चात् केही नलागेपछि प्रदर्शनकारी उक्त क्षेत्र छाडेर लेखनाथ चोक जाने बाटोमा रहेको घरेलु कार्यालय, भौतिक पूर्वाधार कार्यालयमा तोडफोड तथा आगजनी गरी नगरपालिका तथा अन्य स्थानतिर गएका थिए । सो क्रममा डीएसपी खड्का लगायत केही प्रहरीहरु प्रदर्शनकारीको ढुंगा लागेर सामान्य घाइते समेत भएका थिए । सोही बेला नेपाली सेनाको एक टुकडी जिल्ला प्रशासन कार्यालयमा आइसकेकोले थप प्रयासहरु भएन । भीडलाई नियन्त्रणमा लिन डीएसपी खड्कासंगै तीनजना इन्स्पेक्टरहरु पनि खटिएका थिए ।
‘वास्तवमा सार्वजनिक सम्पतिको रक्षा गर्नु हामी सबैको दायित्व हो । रजत चोकमा प्रहरीले सुझबुझको साथ नखटिएको भए आज परिणाम अर्कै हुन सक्थ्यो ’ सुरक्षा कमाण्ड सम्हालेका डीएसपी खड्काले भने । प्रदर्शनकारीहरु अगाडि बढेको भए महत्वपूर्ण कार्यालयहरु अदालत, कारागार लगायतका सरकारी कार्यालयहरु ध्वस्त हुने थियो भने सुरक्षा खतरा बढ्ने थियो । तराईको अन्य सदरमुकामको तुलनामा सबैभन्दा कम क्षति झापा सदरमुकाममा भएको बताइएको छ । सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड तथा आगजनी गर्ने आपराधिक क्रियाकलाप गर्नेहरुमाथि कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक सम्पत्ति तोड्न दिनु भएन यसले राष्ट्र र जिल्लाबासीलाई ठूलो क्षति पुर्याउन सक्ने भएकाले जसरी पनि रोक्न हवाइ फायर तथा बल प्रयोग गर्नुपरेको डीएसपी खड्काले बताए । अथक प्रयास गरी सदरमुकामलाई जोगाउन सफल बनेकोमा सदरमुकामबासीहरुले प्रहरीलाई धन्यवाद दिएका छन् ।



