झापा, असोज ६ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।

आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरेपनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआरलगायत) –१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी , सानो हतियार( पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली , सर्टगन÷ग्यासगन– ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता गरिएको छैन ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल(एसएलआर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली , सानो हतियार( पेस्तोल–रिभल्वर)–३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले जनाएको छ । अरु हतियार मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले सेनालाई बुझाएको थियो । चारआलीस्थित अरिदमण गणले बुझेको हतियार प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

नेपाल प्रहरीले तयार पारेको आन्तरिक विवरणअनुसार देशभरि १२ सय ७६ थान राइफल÷पेस्तोल लुटिएका छन् । त्यस्तै ९८ हजार ४ सय ९१ थान गोली अभिलेखमा आएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्