झापा,असोज ७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भू–उपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए । त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने धारणा राखे । उनले भूमि बैंकको स्थापना गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।
मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कर्तव्य पुरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरे । यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।



