झापा, असोज ८ । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले बिर्तामोडमा रहेका तीनवटा राजनीतिक दलको जिल्ला पार्टी कार्यालयमा आगजनी गरिरहँदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई पुगेको छ ।

बिर्तामोड ४ स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ४० लाखभन्दा बढीको क्षति भएको हो । भदौ २४ गते आन्दोलनकारीहरुले एमालेको जिल्ला पार्टी कार्यालयसंगै अर्जुनधारा ६ मा रहेको कांग्रेसको जिल्ला पार्टी कार्यालय र बिर्तामोड ३ मा रहेको माओवादीको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका थिए ।
अघिल्लो दिन भदौ २३ गते बेलुकाको तोडफोड र भोलिपल्ट गरिएको आगजनीबाट एमाले पार्टी कार्यालयमा ४० लाखभन्दा बढीको क्षति भएको कार्यालय सचिव छविलाल विश्वकर्माले बताए । आगजनीबाट भवनमा क्षति पुग्नुका साथै ४ वटा कोठाको सोफा सेट , ३ थान कम्प्युटर , २ थान इन्भर्टर , एक थान प्रोजेक्टर , साढे ४ सय प्लाष्टिकका कुर्सी , टेबल ७ थान , भीआइपी कुर्सी ८ थान , पंखा २८ थान , टीनको दराज ८ थान , काठको दराज २ थान , एसी पाँच थानलगायतका सामान जलेर नष्ट भएको कार्यालय सचिव विश्वकर्माले जानकारी दिए ।

त्यस्तै आगजनीबाट महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् । पार्टी सदस्यताको रेकर्ड , पार्टी संचालनको कागजात लगायतका महत्वपूर्ण अभिलेखहरु जलेका हुन् । जिल्लाका करिव ४९ हजार सदस्यमध्ये २० हजारको रेकर्डमात्र इमेलमा सुरक्षित रहेको उनले जानकारी दिए ।
जेनजी आन्दोलनको पहिलो दिन नै एमाले पार्टी कार्यालयमा आक्रमण भएको थियो । बेलुका आन्दोलनकारीहरुले पार्टी कार्यालयमा राखिएको जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र प्रदेश सांसद छविलाल चुडालको गाडीसंगै अन्य दुईवटा मोटरसाइकलमा तोडफोड गरेका थिए ।

आन्दोलनकारीहरुबाट जोगाउन जिल्ला अध्यक्ष गिरीले भोलिपल्ट आफ्नो गाडी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेका थिए । आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोडमा आगजनी गर्दा अध्यक्ष गिरीको गाडी पनि जलाएका छन् ।
आन्दोलनकारीहरुले आगजनी गरेको केही समयपछि दमकल मुश्किलले आइपुगेर एमाले पार्टी कार्यालयको आगो निभाएको थियो । जसका कारण पार्टी कार्यालय पूर्णरुपमा ध्वस्त हुन पाएन । आन्दोलनकारीहरुले पार्टी कार्यालयसंगै रहेको शिक्षक संगठनको हलमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् ।




