झापा,असोज ८ । भदौको अन्तिम साता ठुलो राजनीतिक उथलपुथल बेहोरे पनि मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको प्रभाव नदेखिएको तथ्याङ्कहरूले देखाएका छन् ।

त्यसको विपरीत वस्तु आयात उकालो लागेको छ । असोजको सुरुवातसँगै दसैँको चहलपहलसमेत सुरु भइसकेको अवस्थामा भदौमा आयात विगतको तुलनामा अत्यधिक बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागल सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को दुई महिना (साउन–भदौ) को अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्क अनुसार नेपालले तीन खर्ब पाँच अर्ब १५ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको छ ।

यो गत आवको दुई महिनाको तुलनामा १६.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको थियो ।

भदौमा मात्रै आयातको तथ्याङ्क अझ बढी छ । यस वर्ष भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपियाँको वस्तु आयात भएको देखिन्छ । जबकि गत वर्ष भदौमा एक खर्ब ३४ अर्ब १६ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो । जेनजी आन्दोलनकै बिच पनि भदौमा आयात गत वर्षको तुलनामा करिब २८ अर्ब रुपियाँले बढेको देखिन्छ ।

निर्यात व्यापारमा पनि चालु वर्ष अत्यन्त ठुलो सुधार देखिएको छ । गत वर्षको दुई महिनाको तुलनामा वस्तु निर्यात ८८.५७ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । गत वर्ष भदौसम्म नेपालबाट २५ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्