झापा,असोज १० । झापाको बिर्तामोडमा ६ वटा राजनीतिक दलको जिल्ला पार्टी कार्यालय छन् । तर, जेनजी आन्दोलनका क्रममा तीन वटा दलको कार्यालयमा मात्र आगजनी गरी क्षति पुर्याइयो ।

नेकपा एमाले , नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा क्षति गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको पार्टी कार्यालय सुरक्षित रहेका छन् । बिर्तामोडमै रहेका ती तीन तीन दलको कार्यालयमा चाहिँ किन तोडफोड र आगजनी गरिएन ? एमाले , कांग्रेस र माओवादीको कार्यालयमा मात्रै पालैपालो क्षति गरियो भनेर प्रश्न उठ्न थालेको छ । राप्रपाको कार्यालय बिर्तामोड ४ स्थित पुरानो भद्रपुर रोडको छेउ, रास्वपाको कार्यालय मुख्य राजमार्गमा बिर्तामोड १ स्थित पश्चिम बसस्टेण्डको पूर्वपट्टि र एकीकृत समाजवादीको कार्यालय बिर्तामोड ४ स्थित भद्रपुर रोडमा रहेको छ ।
राप्रपाको कार्यालय भाडाको घरमा रहेकाले जोगिएको पार्टीकी नेतृ रन्जु प्याकुरेलले बताइन् । उनले आफ्नै कार्यालय भएका तीन दलको कार्यालयमा मात्र आगजनी भएको र भाडाको घरमा भएका पार्टी कार्यालयहरुमा क्षति नगरिएको दावी गरिन् । अरुतिर तोडफोड र आगजनी हुन थालेपछि आफ्नो कार्यालयको झण्डा र बोर्ड लुकाएको उनको भनाई छ ।
त्यसो त जेन्जी आन्दोलनमा भएको तोडफोड र आगजनीमा रास्वपा , राप्रपा , माओवादी र दुर्गा प्रसाईका कार्यकर्ताहरु संलग्न रहेको आरोप लागेको छ । त्यसका प्रमाणहरु पनि भेटिएका छन् ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले बिर्तामोडमा रहेका तीनवटा राजनीतिक दलको जिल्ला पार्टी कार्यालयमा आगजनी गरिरहँदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई पुगेको छ ।
बिर्तामोड ४ स्थित एमालेको पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ४० लाखभन्दा बढीको क्षति भएको हो । त्यस्तै नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट १० लाख बढीको क्षति भएको छ भने माओवादी केन्द्रको पार्टी कार्यालयमा करिव पाँच लाख बराबरको क्षति भएको जनाइएको छ ।
आन्दोलनकारीहरुले २४ गते विहान १० बजेतिर एमालेको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यसपछि उनीहरु कांग्रेस पार्टी कार्यालयमा गएका थिए । कांग्रेस पार्टी कार्यालयमा क्षति पुर्याएपछि आन्दोलनकारीहरु माओवादी पार्टी कार्यालयमा आगजनी गर्न गएका थिए ।



