झापा, असोज १० । आगामी फागुन २१ गते हुने गरी घोषित निर्वाचनका लागि नयाँ अनुहार जेन–जी आन्दोलनको म्यान्डेट भएपनि झापामा पुरानै अनुहारको पुनरावृति हुने देखिएको छ ।

पुरानै अनुहार र पुरानै कार्यशैलीको पुनरावृत्तिले समाजमा असन्तुष्टि बढ्दा जेन–जी आन्दोलनलाई ऊर्जा मिलेको हो  । २०७९ सालको निर्वाचनमा जितेका अनुहारहरु नै आगामी फागुन २१ मा उम्मेद्वार बन्न सक्ने देखिएको हो । ७४ जनाको ज्यान जाने गरी भदौ २४ गते भएको आन्दोलनले नयाँ शासक र नयाँ सत्ता खोजेपनि कांग्रेस र एमालेले सामान्य फेरबदल बाहेक अहिलेका नेताहरुलाई पुरै माइनस गरेर अघि बढ्न सक्ने संकेत देखिएको छैन ।

२०७९को निर्वाचनमा झापा क्षेत्र नं १ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , २ बाट एमालेका देवराज घिमिरे , ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , ४ बाट एमालेका लालप्रसाद साँवा र ५ बाट एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओली निर्वाचित भएका थिए । तीमध्ये अधिकांश उम्मेद्वार बन्न सक्ने छाटकाट देखिन्छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १० धुलावारी निवासी ५५ वर्षीय कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटकको प्रयासमा २०७९ को निर्वाचनमा क्षेत्र नं १ को सांसद बनेका हुन् ।यो क्षेत्रमा ०७४ सालको निर्वाचन वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राम कार्कीसँग शर्मा पराजित भएका थिए । शर्मा ०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित बनेका थिए ।

झापा क्षेत्र नं २ बाट चुनाव जितेर ६९ वर्षीय देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख बनेका हुन् । नेपाली राजनीतिमा यसअघि एमालेको केन्द्रीय सदस्य रहेका घिमिरे २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

जसरी पनि निर्वाचन जित्ने तरिका जानेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका लागि क्षेत्र नं ३ पेवा जस्तै भएको छ । ६० वर्षीय लिङ्देन एमालेसंग मिलेर लगातार दुईवटै निर्वाचनमा जितेर सांसद बनेका छन् । उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए । बहुदलीय व्यवस्थापछिका दुवै स्थानीय निर्वाचनमा तत्कालीन गोलधाप गा.वि.सं.को वडा अध्यक्ष बनेका लिङ्देन जिल्ला विकास समिति झापाको सभापति (२०६१–२०६३) बनेका थिए ।

५८ वर्षीय लालप्रसाद साँवा (एलपी)ले पनि क्षेत्र नं ४ मा जरा गाडेर बसेका छन् । उनी २०७४ र २०७९ मा लगातार दुईपटक सांसद बनेका हुन् । उनी दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीसँग पराजित भएका थिए।

क्षेत्र नं ५ त एमाले अध्यक्ष ओलीको निजी जस्तै भएको छ । पटक पटक निर्वाचन जितेका ओली संविधान जारी भएपछिका १० वर्षमा चार पटक प्रधानमन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्