झापा, असोज ११ । सहकारीका साधारण सभा हुने यो सिजनमा उद्घाटन गर्न जनप्रतिनिधिहरुलाई भ्याइ नभ्याई हुन्थ्यो । सहकारीहरुले ठूलो तामझामले भोजभतेरसहित साधारण सभा गरिरहेका हुन्थे । तर, यस वर्ष राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनपछि त्यस किसिमका सबैखाले विकृति हटाइएको छ ।

सहकारी संस्थाहरुले सायदै कल्पना नगरेका प्रमुख अतिथि र अतिथि विनाको खादा र माला बेगरको साधारण सभा अहिले गरिरहेका छन् । प्राधिकरणले संस्थाको साधारणसभाले निर्धारण गरेको बजेटको सीमाभित्र रही खर्च गर्ने, तडकभडकपूर्ण र देखावटीपूर्ण खर्च नगर्ने, साथै सदस्यको क्षमता विकास गर्न सदस्य केन्द्रीत सदस्य शिक्षा, वित्तीय साक्षरता, विस्तारित मञ्चका कार्यक्रमहरु बजेट, कार्यक्रम र कार्ययोजना तयार गरी सञ्चालन गर्न, गराउन निर्देशन दिएको हो ।

गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई उद्घाटन सत्रमा आमन्त्रण गरी साधारण सभाका एजेण्डा ओझेलमा पार्ने गरी औपचारिकतामा बढी समय खर्च नगर्न भनिएको छ । आवश्यक भएमा सहकारी संस्थाले सदस्यता लिएका माथिल्ला संघका व्यक्ति वा स्रोत व्यक्तिलाई आमन्त्रण गरी प्रारम्भमै आवश्यक सूचना, निर्देशन, शिक्षा वा तालिम लिन सकिने व्यवस्था भने खुला गरिएको छ । निर्वाचन प्रयोजनका लागि आवश्यक कार्य गर्न उपसमिति गठन गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने कुरामा कुनै बाधा नहुने व्यवस्था पनि यसमा समावेश छ । यसबाहेक कार्यक्रममा मञ्च सजावट, माला, खादा, अतिथि उपहार, अतिथि यातायात तथा आवास खर्च, साधारण सभामा सहभागिता भत्ता वा यातायात खर्च, भोजभतेर जस्ता फजुल खर्च नगर्नुपर्ने स्पष्ट निर्देशनसमेत जारी गरिएको छ ।

प्रत्येक वर्ष बिर्तामोड नगरपालिकाका नगर प्रमुखलाई प्रमुख अतिथि बनाएर साधारण सभा गर्ने गरेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष बिना प्रमुख अतिथि १५ औं साधारण सभा सम्पन्न गरेको छ ।

बिर्तामोडको अतिथि सदनमा गरिएको कार्यक्रममा मंच सजावट , खादा , माला , व्याज , मायाको चिनो केही पनि थिएन । अरु वर्ष प्रमुख अतिथि र अतिथिहरुका लामा भाषणका कारण सदस्यहरुलाई पट्यारलाग्ने गरेकोमा यस वर्ष करिव दुई घण्टामै उद्घाटन सत्र र बन्दसत्र सम्पन्न हुँदा उनीहरुले आनन्द महसुस गरेका थिए । प्रमुख अतिथि , खादा , माला बिनाको साधारण सभा गर्दा केही खल्लो लागेपनि खर्च कटौती र समयको बचत भएको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका एक संचालकले बताए ।

जिल्लाका अन्य सहकारीहरुले पनि सामान्य ढंगले साधारण सभा गरिरहेको जिल्ला सहकारी संघ झापाले जनाएको छ । प्राधिकरणको निर्देशनविपरित साधारण सभा गरेमा १० देखि १५ लाख जरिवाना हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्