झापा, असोज ११ । आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य शुरु गरेको छ ।

हिजो पहिलो दिन ५६ जनाले मतदाता नामावली दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । उनले दैनिक ४०० जनाको हाराहारीमा नामावली संकलन गर्नेगरी व्यवस्थापन गरिएको जानकारी दिए । २०८१ चैत मसान्तसम्म झापामा ६ लाख ७७ हजार मतदाता रहेको तथ्यांक छ ।

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने भएको हो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्