झापा,असोज ११ । आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपालले शनिबारदेखि दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० सिरिज खेल्दैछ ।

शनिबारको पहिलो खेल शारजाह मैदानमा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरू हुनेछ ।
युनिटी कपको नाम दिइएको यो सिरिज नेपालले आइसिसीको स्थायी सदस्यसँग खेल्न लागेको पहिलो द्विपक्षीय सिरिज हो ।
एक वर्षअघि वेस्ट इन्डिजको ‘ए’ क्रिकेट टोलीसँग खेलेको नेपालका लागि वेस्ट इन्डिजविरूद्धको खेलमा जित्ने भन्दा पनि सिक्नका लागि महत्वपूर्ण ठानिएको छ ।
वेस्ट इन्डिजविरूद्ध सिरिज खेलेर तयारी गर्दा नेपालले दुई सातापछि ओमानमा हुने विश्वकप छनोटअघि आत्मविश्वास बटुल्नेछ ।
त्यसो त नेपालविरूद्धको सिरिजका लागि वेस्ट इन्डिजले पाँच जना खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिएको वेस्ट इन्डिजविरूद्ध नेपालका लागि आफ्नो क्षमता देखाउने अवसर पनि हुनेछ ।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर–६ मा पुग्नेछ ।
सुपर–६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।
ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ । अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् ।
तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।