झापा, असोज १२ । नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको छ ।

उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले गएराति पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो ।

यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विजय हो । नेपालले यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार ९ हार बेहोरेको थियो ।
नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ । अमिर जाङ्गो, अकिम अगुस्टे, नवीन बिदाइसी र रेमोन सिमोन्ड्सलाई ‘डेब्यु’ गर्न दिएको वेस्टइन्डिजबाट अनुभवी जेसन होल्डर लगायत खेलेका थिए ।

कुशल भूर्तेलले ओपनर केयल मायर्सलाई दोस्रो ओभरमा ५ रनमा सिधा स्टम्पमा हानेर रन आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । जाङ्गो २२ बल खेली २ चौकासहित १९ रन बनाएर आउट भए । अगस्टीलाई नन्दन यादवले १५ रनमा आउट गरे । ७ बल खेलेका अगस्टीले २ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्