झापा, असोज १२ । चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत इलाम जिल्लामा २८ जना ट्राफिक प्रहरीसहित ४८५ जना प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृंखल गतिविधि नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाई अशान्ति फैलाउने, जुवा तास खेल्ने खेलाउने जस्ता गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय इलामले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको हो ।

सो योजना अनुसार यस कार्यालय तथा मातहत समेतबाट सवारी साधन चेकजाँच गर्ने, तोकिएकोभन्दा बढी भाडा असुल गर्ने तथा सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी साधन चलाउने सवारी साधनका चालकलाई कानुन बमोजिम कार्वाही गर्ने, यात्रुलाई सहायता र सहजीकरण गर्न सीमानाकामा यात्रु सहायता कक्ष एवं सवारी साधन बढी संचालन हुने बजारहरु इलाम, मंगलबारे, फिक्कल, दानाबारी, जोरकलश लगायतका स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दैनिक रुपमा चेकिङ, पैदल गस्ती, ग्रामीण गस्ती, पट्रोलिङ, एम्बुसिङ चेकपोईन्ट, पिकेट, बजार अनुगमन, सीमानाका चेकिङ, र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले बताए ।

उनले चाडपर्व मनाउने नाममा सडक अनुशासनमा लापर्वाही गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गरी, उच्छृंखल गतिविधि गर्ने, जुवा तास र डायस जस्ता प्रचलित कानुनले निषेध गरेको जितहार हुने खेलहरु नखेल्न÷नखेलाउन अनुरोध गरिएको बताउँदै प्रचलित कानुनले निषेध गरेको क्रियाकलापहरु भए गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्