झापा असोज १२ । गृह मन्त्रालयले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरुलाई विदेश जान रोक लगाइएको हो ।
त्यस्तै उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाइएको छ । उनीहरु कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग अनुमति लिनुपर्ने छ ।
आयोगको सिफारिसमा टेकेर गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । गृहले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का गरेको छ । यसरी रोक्का गरिएको जानकारी अध्यागमन विभाग र अन्य निकायमा आइतवार नै पठाएको छ ।
गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद् भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गोली चलाउन आदेश दिएका थिए ।
उता एमालेले भदौ २४ को प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडका घटनामा संलग्नलाई जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कारबाही नगर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ ।
गृहको यो निर्देशनले विध्वंसमा संलग्न दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप एमालेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले नेपाल प्रहरीलाई निर्बाध अनुसन्धान गर्न दिन माग पनि गरेको छ ।
त्यस्तै, एमालेले अध्यक्ष ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।




