झापा, असोज १३ । जेनजी आन्दोलनमा घाइते झापाका १७३ जना घाइतेले भैपरी खर्च पाउने भएका छन् ।

उनीहरुलाई जनही २० हजारका दरले सरकारले भैपरी खर्च दिन लागेको हो । भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका झापाका १७३ जना घाइतेहरुका लागि २० हजारका दरले जम्मा ३४ लाख ६० हजार रुपैयाँ भैपरी खर्च आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते भएका व्यक्तिहरुलाई भैपरी खर्च सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने गरी प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यले घाइते भई उपचारार्थ अस्पताल जाँदाको विरामी टिकटपुर्जा÷कार्डसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा सम्पर्क राख्न जानकारी गराएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई पहिचान एवम् सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा गृह मन्त्रालयले हिजैबाट परिचयपत्र वितरण गर्ने कार्य प्रारम्भ गरिसकेको छ।सोही बैठकले घाइतेहरुलाई भैपरी खर्च दिने निर्णय गरेको हो ।



