झापा, असोज १७ । झापा जिल्लामै सन्थाल नृत्यका लागि चर्चित बिर्तामोड– ८ स्थित गरामनीको ऐतिहासिक एवं धार्मिक मेलामा यस वर्ष सन्थाल टोली नआउँदा मेला भर्नेहरुले खल्लो महसुस गरेका छन् ।

विगतका वर्षमा १५–२० वटा सन्थाल नृत्य टोलीले नृत्य देखाएर मनोरंजन प्रदान गरेकोमा यस वर्ष मात्र दुईवटा टोली आएको हो । दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समिति र मेला व्यवस्थापन समितिले नबोलाएका कारण सन्थाल टोलीहरु नआएका हुन् । गत वर्ष पनि गरामनी मेलामा मात्र पाँच वटा सन्थाल नृत्य टोली आएका थिए । जेनजी आन्दोलनमा परी धेरै जनाले ज्यान गुमाउनु पर्दा देश शोकमा परेका कारण यस वर्ष तामझामले मेला नलगाइएको बिर्तामोड– ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले अर्को वर्षदेखि व्यवस्थित रुपमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

परम्परादेखि सन्थालहरुले नाच देखाउँदै आएको दुर्गा माध्यमिक विद्यालयको खेल मैदानलाई मासेर टहरा निर्माण गरिएपछि ठाउँको अभावले गर्दा पनि सन्थाल नाच घटेको हो । राजवंशी , सन्थाल, ताजपुरिया, गन्गाईलगायतका जातिले मेला भरेर दशै मनाउँदै आएका छन् । मेला लाग्ने ठाउँलाई मासेर आदिवासीहरुको मेला संस्कृतिलाई नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । यस वर्ष व्यवस्थापन गर्न नसकेपनि आगामी वर्षदेखि सन्थाल नाचलाई व्यवस्थित गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष नवीन श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्