झापा, असोज १७ । जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेको बताएपछि झापामा पनि उच्च सतर्कता अपनाइएको छ ।

बाढीको जोखिम पहिचान गरिएको दक्षिणी क्षेत्रका ४ वटा पालिका र नदी तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाइएको हो । बाढी आइहालेको खण्डमा ती क्षेत्रहरुमा उद्धारको लागि टोली स्टेन्डबाई राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । उनले पहाडी क्षेत्रमा हुने वर्षाको असर तराईमा पर्ने भएकाले सोही अनुसार तयारी गरिएको जानकारी दिए ।
मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दस ठाउँमा पहिरोको जोखिम रहेको सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिले प्रक्षेपण गरेका छन् ।
सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति इलामका अनुसार इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका– ११ तीन घरे, रोङ गाउँपालिका–४ कोल्बुङ, रोङ गाउँपालिका– ३ चुच्चेढुङ्गा, इलाम नगरपालिका ४ बाघखोर, इलाम नगरपालिका –५ चुरेघाँटी, इलाम नगरपालिका– १० राजदुवाली, इलाम नगरपालिका– ४ पुवाखोला, देउमाइ नगरपालिका– १ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका– ४ रमिते र फाल्गुनन्द गाउँपालिका– ३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ ।
यस्तै, केचना कञ्चनजंघा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम छ । यसैगरी पाँचथरमा पर्ने फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तर्गत तुम्वेवा– २ को नावाखोला, मध्य पहाडी राजमार्गको याङवरक– ३ रिजाल भीर र याङवरक –२ को फलामखोला र मेवा खोला लगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम रहेकाले यस क्षेत्रबाट अत्यावश्यक काम नपरी यात्रा नगर्न प्रहरी प्रशासनको आग्रह छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ ।
अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।