झापा, असोज १८ । संभावित मनसूनजन्य बिपद जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आज एक सूचना जारी गरी आग्रह गरेका हुन् ।
असोज १८,१९ र २० गते अत्यावश्यक अवस्थामा बाहेक यात्रामा ननिस्कन र अत्यन्त जरुरी काम परेर निस्कनै पर्ने अवस्थामा समेत मौसमको अवस्था बुझेर छोटो दुरीको यात्रामा मात्र निस्कन , झापाबाट काठमाण्डौं जाँदा प्रयोग गरिने वीपी राजमार्ग, कान्ति लोकमार्ग, हेटौंडा–कुलेखानी– दक्षिणकाली सडक, त्रिभुवन राजपथ तथा चितवन भएर जाँदा प्रयोग हुने चितवन– मुग्लिन–नौबिसे– काठमाण्डौँ सडकखण्डका बिभिन्न ठाउँमा पहिरो जानेक्रम चलिरहेकाले उक्त सडकखण्डमा रात्रिकालीन यातायात सञ्चालन गर्नु जोखिमपूर्ण हुने तथा स्थानीय प्रशासनले ती ठाउँमा राति गाडी चलाउन बन्देज समेत लगाएको हुँदा उक्त स्थान भएर जाने गरी रातिको यात्रा नगर्न आग्रह गरिएको छ ।
त्यस्तै मेची, बिरीङ, कन्काईलगायतका नदी खोला किनारमा रहेका घरपरिवारका व्यक्तिहरुले आफूले प्रयोग गरिरहेको औषधी, लगाउने लत्ताकपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्री तत्काल बोकेर हिड्न मिल्ने गरी सुरक्षित पोको बनाई राख्न र बाढी, डुवानको अवस्था आइपरेमा त्यस्तो पोको झोला समेत लिई समयमै सम्बन्धित वडा कार्यालयले तोकेको सुरक्षित स्थानमा सर्न ,स्थानीय तहहरुले बाढी, डुवानको जोखिममा रहेका आफ्नो क्षेत्रका मानिसहरुको उद्दारका लागि स्थानीय सुरक्षा निकाय, संघ संस्था, स्वयंसेवक लगायतसँग आवश्यक समन्वय गरी तयारी अवस्थामा राख्न तथा उद्धारपश्चात् राख्न पहिचान गरिएका स्थान (विद्यालय, सामुदायिक भवन आदि) को सरसफाई गरी राख्न तथा ती भवनको तालाचावी बोक्ने व्यक्तिलाई सम्पर्कमा राख्न , उद्योगी, व्यापारी, व्यवसायी एवं विपदमा सहयोग गरी मानव सेवा गर्न इच्छुक संघ–संस्था, व्यक्तिहरुले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यलयसँग समन्वय गर्न र गलत सूचनाले आममानिससा अनावश्यक त्रास फैल्याउने, क्षति धेरै हुने आदि भएकाले सामाजिक सञ्जालमा विपदसम्बन्धी सामग्री सम्प्रेषण गर्दा तथ्यमा आधारित सामग्रीमात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ ।




