झापा, असोज १८ । झापा र उदयपुरमा खोलामा डुबेर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे झापा बाह्रदशी –४ मुन्सी कामत टोल बस्ने बर्ष–६२ का मंगलसिंह मुर्मु घाग्रा खोलामा तर्ने क्रममा खुट्टा चिप्लिएर डुबेका थिए । स्थानीयले देखेर उद्दार गरी मुर्मुलाई घरतर्फ लैजादा उनको मृत्यु भइसकेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपछि मृतकका छोरा श्याम मुर्मुले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता आज बिहान ११ बजे उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ३ पाकाना सैलेनी घर भई त्रियुगा वडा नं. ५ दमैतीमा खेती गरि बस्ने उजन राईकी छोरी वर्ष ३ की रेबिका राईको घरनजिकै रहेको अम्बिका खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।