झापा, असोज १८ । प्रधानमन्त्री सुशीला कार्कीले विपतको अवस्थामा सरकार साथ रहेको भन्दै नागरिकलाई सुरक्षित र सावधानी हुन आग्रह गरेकी छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै उनले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अप्ठेरोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको बताएकी छन् ।
‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रस्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’
बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराएकी छिन् । ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।



