झापा, असोज १९ । कन्काई नदीको जलसतह खतरा लेभलमा पुगेपछि गौरीगञ्ज र झापा गाउँपालिकाका जोखिमपूर्ण ठाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

जोखिममा पर्न सक्ने मानिसहरुलाई सशस्त्र र नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरुको सहयोग र सहकार्यमा सुरक्षित ठाउँमा राखिएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले कन्काई र बिरिङ नदीमा खतराको तह पार गरेर बाढी आइरहेको जानकारी दिएका छन् ।
कन्काई नदीको जलसतह अघि बिहानसम्म ५.१२ को लेभलमा थियो ।३.८ लाई सचेतना र ४.३ लाई खतरा मानिन्छ । २०७४ सालमा ५.४ पुगेको थियो । बिरिङ खोलाको जलसतह पनि खतराको लेभलमा पुगेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।



