झापा, असोज १९ । अविरल वर्षाका कारण अवरुद्ध भएको एसियन हाइवे आजै रातिदेखि सुचारु हुने भएको छ ।

झापाको शिवसताक्षी –१० मा रहेको भालु खोलामा पूर्वपश्चिम एसियन हाईवे मर्मतको लागि ह्युमपाईप लगाई बनाइएको डाइभर्सन उक्त खोलामा आएको पानीले साईडको माटो कटान गरेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको हो । डाइभर्सन बगाएपछि सवारी साधनलाई बैकल्पिक बाटो शिवसताक्षी– ९ हँुदै माईधार निस्कने गरी सुचारू भइरहेको छ ।
त्यस्तै मेचीनगर –६ को पूर्वपश्चिम राजमार्गस्थित कालीखोलामा कल्भर्टको ह्युमपाइपमाथि सडकसम्म बाढी आएपछि सवारी साधनको आवतजावत बन्द भएको छ । भालु खोलामा करिव ३० मिटर र काली खोलामा करिव १५ मिटर वास आउट भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ । त्यस कार्यालयका एक कर्मचारीका अनुसार दुवै ठाउँमा धमाधम काम भइरहेकाले ठूलो पानी नपरेको खण्डमा आज रातिदेखि एसियन हाइवे सुचारु हुनेछ ।



