झापा, असोज २० । मोटरसाइकल दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापाका सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्युु भएको छ ।

मोरङ केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई हिजो साँझ ६.३० बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा मे १ च १९७८ न. को एम्बुलेन्सले ठक्कर दिएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ न. को एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोहि अस्पतालमा रहेको छ । ठक्कर दिने एम्बुलेन्स चालक दमक ९ बस्ने बर्ष ४१ का बिष्णु प्रसाई ,एम्बुलेन्स र मोटरसाइकल प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा रहेको छ ।
त्यस्तै मेचीनगरमा दुर्घटनामा परी एकजना सशस्त्र प्रहरी हवल्दार घाइते भएका छन् । हिजो दिउँसो ४.३० बजे मेचीनगर –७ सतिघट्टा पिपलबोटस्थित भित्री सडकखण्डमा सतिघट्टाबाट काँकरभिट्टातर्फ जाँदै गरेको एएए६१२४ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ ज ३६८० नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही बलरा ६ घर भई बीओपी सतिघट्टामा कार्यरत ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार अकबर मियाँ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएको छ । मोटरसाइकल, म्याजिक र म्याजिक चालक अर्जुनधारा ६ बस्ने बर्ष अन्दाजी ४० का दिपक चापागाईलाई बीओपी सतिघट्टाले नियन्त्रणमा लिएको छ ।



