झापा, असोज २० । पूर्वमा बाढी पहिरोपीडितको उद्धारका लागि नेपाली सेनाको दुईवटा हेलिकप्टर परिचालन भएको छ ।

एउटा इलाममा र अर्को झापामा परिचालन गरिएको हो । झापा गाउँपालिकाका बाढीपीडितलाई हिजो उद्धार गर्न इटहरीबाट हेलिकप्टर आउन नसकेपछि काठमाण्डौबाट मगाइएको चारआलीस्थित अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाले बताए ।
झापा गाउँपालिकामा उद्धारको लागि श्री नं.२१ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, पाईलट में. से. प्रशान्त पाण्डेसहित १÷५ नफ्रिमा नेपाली सेनाको NA ०५४ नम्वरको हेलिकप्टर आएको हो । सो हेलिकप्टरले वडा नं २ मिलन बस्तीका १६ जना बालबालिकालाई उद्धार गरी झापा गाउँपालिकाको रेडक्रस भवन पुर्याएको थियो । जुन हेलिकप्टर श्री नं.२१ वाहिनी अड्डा तोपगाछीमा स्टेण्ड बाई राखिएको प्रमुख सेनानी थापाले जानकारी दिएका छन् ।
उता इटहरीबाट आएको सेनाको हेलिकप्टरले इलाममा उद्धार गरिरहेको छ । हिजो गर्भवती महिलालाई उद्धार गरेको सो हेलिकप्टरले आज इलाममा पहिरोमा परी घाइते भएका चारजनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याएको छ । आज बिहान ७.३० बजे बीएण्डसी ल्याइएका घाइतेहरुमा इलाम सन्दकपुर ४ मावु बस्ने २५ वर्षीया सविना राई , उनकी छोरी २१ महिनाकी सेन्ट्रीना , सोही ठाउँ बस्ने २३ वर्षीया दिक्षा राई र ५३ वर्षीय धनबहादुर राई रहेका छन् । सेनाले विपद् हुनुभन्दा पहिल्यै हेलिकप्टरलाई स्ट्यान्ड बाई राखेको थियो ।
नेपाली सेनाले सुर्खेत र काठमाडौंको एयरवेससहित पूर्वमा इटहरीमा उद्धारका लागि सैनिक हेलिकोप्टर तैनाथ राखेको थियो । त्यहीअनुसार इलाममा पहिरोमा परी गम्भीर घाइते भएकालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक रथी राजाराम बस्नेत बताउँछन् । गृह मन्त्रालयले शनिबार नै हेलिकप्टरलाई तैनाथ अवस्थामा राखिदिन भन्दै वायुसेवा सञ्चालक संघलाई पत्राचार गरेको थियो ।



