झापा,असोज २० । झापाका बाढीपीडितहरुको उद्धारका लागि श्री अरिदमन गण चारआलीको सक्रियता प्रशंसनीय देखिएको छ ।

गणका फौजले तदारुकताका साथ जल तथा हवाई उद्धार गरी जनधन जोगाउन गरेको प्रयासलाई नागरिकहरुले प्रशंसा गरेका हुन् ।

असोज १८ गतेदेखि अबिरल बर्षाका कारण यस गणको जिम्मेवारी क्षेत्र झापा जिल्लामा बाढी तथा डुबानबाट प्रभावित विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा विपद प्रतिकार्य तथा राहतका सामग्रीहरुसहित फौज परिचालन भएको थियो । जिल्लाको सबैभन्दा बढी प्रभावित झापा गाउँपालिकामा श्री अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा फौज खटिएका थिए । अविरल बर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिका वडा नं.–१ स्थित मिलनबस्ती पूर्णरुपमा डुवान परेपछि गणका गणपति प्रमुख सेनानी थापा लगायत करिब ६५ जनाको फौज उक्त ठाउँमा असोज १९ गते बिहान ७ बजेदेखि राति ९ बजेसम्म उद्धार कार्यमा खटिएका थिए ।

सो उद्धार कार्यमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, अन्य सुरक्षा निकायका प्रमुखहरु तथा जिल्ला रेडक्रस सोसाईटीका सभापति लोकराज ढकाललगायतको संलग्नता रहेको थियो । उद्धारका लागि श्री नं २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठसहित नेपाली सेनाको NA०५४ नम्बरको हेलिकप्टर हुलाकी राजमार्गमा अवतरण गरी मिलनबस्तीमा उद्धार कार्य गरेको थियो । उक्त हेलिकप्टरबाट महिला, बृद्धबृद्धा, बिरामी तथा बालबालिकाहरु गरी १६ जना व्यक्तिहरुको उद्धार भएको थियो ।

साथै अरिदमन गणबाट खटिएका फौज तथा मोर्टर बोट, अन्य सुरक्षा निकायको फौज तथा मोर्टर बोटबाट संयुक्तरुपमा करिब ४० जना बालबालिकासहित १०७ जनाको सकुशल उद्धार गरी अरिदमन गण तथा जिल्ला रेडक्रसका गाडीहरुमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गणपति थापाले बताए ।

उनका अनुसार गणका फौजले झापा गाउँपालिका वडा नं.६ स्थित स्वर्णमितमा डुवान परी घरमा फसेका ६ जनाको सकुशल उद्धार गरेका थिए भने झापा गाउँपालिका वडा नं.२ स्थित सडकबारीमा सेन्ट जेभियर्स स्कुल तथा नजिकका ठाउँमा घरको छतमा फसेका ५ जनासहित अन्य २० जनाको अरिदमन गणको Out Board Motor(OBM) द्वारा सफलतापूर्वक उद्धार गरिएको थियो ।साथै अन्य १२ जनालाई समेत अन्य सुरक्षा निकायसंगको सहकार्यमा संयुक्त रुपमा उद्धार गरिएको गणपति थापाले बताए ।


त्यस्तै गौरीगंज गाउँपालिका वडा नं.१ स्थित चौरी इलाकामा १५० घरधुरीका करिब ४०० जना र शिवसताक्षी नगरपालिका वडा नं. ५ कालीखोला इलाकामा १०५ घरधुरीका करिब ३०० जना गरी जम्मा २५५ घरधुरीका करिब ७०० जनालाई उद्धार गरी आपगाँछी आधारभूत बिद्यालय तथा आसपासको सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गणले जनाएको छ ।
त्यस्तै मेचीनगर नगरपालिका १५ स्थित ज्यामिरगढीमा घर तथा गाईफर्ममा फसेका २ जना , १०–११ वटा चौपाया तथा अन्य सर–सामानहरुको सकुशल उद्धार गरिएको थियो ।


त्यस्तै मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीस्थित मेची नदीको बिच टापुमा फसेका ४ जनालाई अरिदमन गणको रबर बोटको प्रयोग गरी अन्य सुरक्षा निकायहरुको सहकार्यमा सकुशल उद्धार गरिएको थियो ।

जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुको बाढी तथा डुवान प्रभावित ठाउँहरुमा अरिदमन गण तथा श्री नं.२१ बाहिनी अड्डा तोपगाछी ब्यारेकबाट गरी तीन सय बढी फौज, ३ वटा मोर्टर बोट तथा रबर बोटहरुको प्रयोग गरी विपद् प्रतिकार्यमा खटिएको गणपति प्रमुख सेनानी थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्