झापा, असोज २१ । झापाको हल्दिवारीमा लगातार चोरी हुँदै आएको छ ।

हल्दिवारी वडा न.२ सूर्य होली चोक बस्ने भानुकुमार मगरको घरमा दशैको टिका लगाउन शनिबार स–परिवार घरमा चाबी लगाई आफन्तकोमा गएको अबस्थामा एकतले पक्की घरको अगाडिपट्टीको ग्रीलको ढोकाको चाबी फुटाई चोरी भएको हो । सुत्ने कोठामा ब्यागमा राखिएको नगद २ हजार रुपैयाँ चोरी लगेको मगरले बताएका छन् ।
मगरको घरमा चोरी भएको घटनाको अघिल्लो दिन साँझ सोही ठाउँका केदारप्रसाद रिजालको एकतले घरमा कोही नभएको समयमा घरको दक्षिणपट्टिको ढोकाको कब्जा फुटाई लाखौको चोरी भएको थियो । रिजालको घरबाट सुनको बिभिन्न गर–गहना तथा नगद रु.५० हजार गरी अन्दाजी १३ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
यसैबीच चोरी गर्दै गर्दा कचनकवलमा एकजना पक्राउ परेका छन् । गएराति ९ः२५ बजे कचनकवल गाउँपालिका वडा नं १ नन्दीडाँडा बस्ने २९ वर्षीय ताला हेमरमले वडा नं २ पुरानो बजारमा रहेको राजेश श्रेष्ठको खाजाघरको टिनको बार फोरी भित्र पसेर चोरी गर्दै गर्दा स्थानीयहरुले नियन्त्रणमा लिएका छन् । उनलाई प्रहरी चौकी पथरियाको जिम्मा लगाइएको छ । उक्त होटलको गल्लाबाट ३ हजार रुपैयाँ हराएको बुझिएको छ ।



