झापा, असोज २१ । आइतवारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले झापा गाउँपालिकाको १ र २ नं वडालाई सखाप पारेको छ ।

झापा जिल्लामै सबैभन्दा बढी क्षति दक्षिणी सिमावर्ती झापा गाउँपालिकामा भएको हो । त्यसमा पनि वडा नं १ र २ का अधिकांश बासिन्दा प्रभावित बनेका हुन् । माई खोलाको भेल गाउँमा पस्दा ती दुई वडामा करोडौको क्षति भएको छ ।

करिव १ हजार ५ सय घरधुरी र ४ हजार ९०७ जनसंख्या रहेको वडा नं १ का करिव ८० प्रतिशत बासिन्दा डुबानमा परेका थिए । त्यस्तै २ हजार १ सय घरधुरी र ५ हजार १सय जनसंख्या रहेको वडा नं २ का करिव ९० प्रतिशत बासिन्दा डुबानको मारमा परेका छन् । माई खोलाको छेउमा रहेका ती वडा बढी प्रभावित बनेका हुन् ।

त्यस्तै झापा गाउँपालिकाको वडा नं ३ , ५ , ६ र ७ नं वडा पनि प्रभावित बनेका छन् । १ हजार ३५० घरधुरी रहेको वडा नं ३ मा करिव ५० प्रतिशत , ८ सय घरधुरी रहेको वडा नं ७ मा करिव ४० प्रतिशत घरधुरी डुबानमा परेका थिए । त्यस्तै १ हजार ४ सय घरधुरी रहेको वडा नं ५ मा १०८ घरधुरी प्रभावित र ३४ घरधुरीलाई पूर्ण क्षति पुगेको छ । ठूलो भेल पसेपनि आफ्नो वडाका प्रभावितहरु विस्थापित नबनेको वडा नं ५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीले बताए । उनले अहिले पानी घटिसकेको जानकारी दिए ।

त्यस्तै वडा नं ६ को करिव सय घर डुबानको मारमा परेको जनाइएको छ । झापा गाउँपालिकामा ८ हजार ५१५ घरधुरी र ३९ हजार ३०२ जनसंख्या रहेको छ । बढी गरेर वडा नं १ र २ मा क्षति पुगेको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । उनले गाउँपालिकाभरि भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको जानकारी दिएकी छन् ।

झापा गाउँपालिकामा ३ हजार ५ सय घरधुरीका १२ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ । बाढीग्रस्त झापा गाउँपालिकाको वडा नं १, २ र ३ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्