झापा, असोज २१ । झापाका बाढीपीडितहरुलाई आफूखुशी राहत वितरण गर्न जाने कार्यलाई पूर्णतः नियन्त्रण गर्दै वितरणको नेतृत्व स्थानीय तहलाई दिइएको छ ।

जिल्ला बिपद ब्यवस्थापन समिति झापाले सो निर्णय गरेको हो । आज जिल्ला प्रशासन कार्यलयको सभाहलमा जिल्ला बिपद ब्यवस्थापन समिति झापाको संयोजनमा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा, संघीय सासद लालबहादुर साँवा लिम्बू , कोशी प्रदेश सरकारका राज्यमन्त्री भूमि राजवंशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थितिमा बसेको बैठकले स्थानीय तहको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको हो ।
स्थानीय तहबाट मात्र राहत वितरण सम्भव नहुने भएकाले जिल्ला तहबाट पनि राहत जुटाई स्थानीय तहमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री पठाउने, यस्तो सामग्री सम्बन्धित स्थानीय तहको नेतृत्वमा पारदर्शी ढंगले प्राथमिकता प्राप्त व्यक्तिहरुलाई वितरणको व्यवस्था मिलाउने निर्णय गरिएको हो ।
विपद्को बेला सहयोग गर्न इच्छुक दातृ निकाय तथा अन्य संघ÷संस्था÷ महानुभावहरुलाई जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर तोकिएको स्थानीय तहमा गई उक्त स्थानीय तहको संयोजनमा राहत वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । तर, समन्वय नगरी आफूखुसी राहत वितरण गर्न जाने तथा प्रचार प्रसारका लागि मात्र वितरण गर्न खोज्ने कार्य पूर्णतः नियन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।
झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी नगरपालिकालगायतका स्थानीय तहमा धेरै घरहरु डुवानमा परेका छन् । कैयौं परिवार अस्थायी रुपमा विस्थापित हुनु परेको छ भने धान तथा अन्य खेतीवाली र पशुधन समेत क्षति भएको छ ।
बैठकले प्रभावित परिवारको यथार्थ विवरण स्थानीय तह, स्थानीय प्रहरी, रेडक्रस समेतको संयुक्त टोलीले अविलम्ब संकलन गरी सक्ने, यसका लागि आवश्यक सहजीकरण नेपाल रेडक्रस सोसाइटीले गर्ने ,कृषि तथा पशु एवं सडक, पुल, खानेपानी, विद्युत लगायतका पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित विषयगत कार्यालयले ७ दिनभित्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने , बाढी डुवान प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य कार्यालय र प्रादेशिक अस्पतालको अगुवाईमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु समेतको सहभागितामा स्वास्थ्य टोलीहरु यथाशिघ्र खटाउनका साथै नियमित सूचना प्राप्त गरी कतै स्वास्थ्य समस्या देखिए तत्काल विशेषज्ञ सहितको टोली खटाउने निर्णयसमेत भएको छ ।
झापामा ५ हजारभन्दा बढी परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रायः सबैको घर डुवानमा परी ओढ्ने ओछ्याउने, खाद्यान्न लगायतका सामग्री पूर्णतः नष्ट भएको छ ।स्थानीय तह तथा जिल्ला स्तरबाट जुटाइने राहत सामग्रीले मात्र पर्याप्त नहुने भएको हुँदा तत्कालका लागि १५०० परिवारलाई पुग्ने खाद्य सामग्री (प्याकेज) तथा हजार थान ब्ल्याङ्केट तथा हजार थान मेट्रेस उपलब्ध गराईदिन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश विराटनगरसँग माग गर्ने निर्णयसमेत भएको छ ।



